धरान: विराटनगर प्रदेश नं १ को राजधानी हो । राजनीतिको केन्द्र पनि हो विराटनगर । यही विराटनगरमा प्रदेश नं १ को महत्वपुर्ण विमानस्थल छ ।

यो विमानस्थलबाट दैनिक सयौं हवाई यात्रु आवतजावत गर्छन् । हिजोआज भने त्यही विमानस्थलमा राखिएको होडिङ बोर्डमा धरानको एउटा सुन्दर तस्बिर देखिन्छ । यो होडिङ बोर्ड धरानको पर्यटन प्रर्वद्धन गर्न राखिएको हो । जसमा रात्रीकालिन धरानको आकर्षक तस्बिर राखिएको छ । उक्त तस्बिरमा धरान दक्षिणको इटहरी क्षेत्रको पनि रात्रीकालिन झिलिमिलि देख्न सकिन्छ ।

यो तस्बिर धरान उपमहानगरपालिका अन्र्तगतको धरान पर्यटन विकास समितिले राखेको हो । हवाई यात्रुहरुलाई धरान पनि प्रमुख पर्यटन गन्तव्य हो भनेर प्रचार गर्न होडिङ बोर्डमा तस्बिर राखिएको उपमहानगरपालिकाले जनाएको छ । 'धरान..घुम्नै पर्ने गन्तव्य' भनेर होडिङ बोर्डमा लेखिएको छ । विमानस्थलबाट मात्र ४० किलोमिटर उत्तरमा धरान अवस्थित रहेको पनि उल्लेख छ ।