इटहरी: इटहरीमा रहेको विश्व आदर्श एकेडेमीले रचनात्मक तरिकाले तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
विश्व आदर्श कलेजका प्रिन्सिपल गणेश दुलालले पछिल्लो समय चार्डवार्ड बिकृतीका रुपमा आएको र त्यसको सकारात्मक रुपमा जगेर्ना गर्नका लागि आँफूहरुले अन्तक्रिया एवम् तीज विशेष कार्यक्रम आयोजना गरेको बताए । ‘अहिले समाजमा बिकृति र बिचलन भईरहेको छ,’उनले भने,‘संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरेका हौं ।’

कार्यक्रमका प्रमुख वक्ता डा. रमेश घिमिरेले अहिलेको समाज सचेत नरहेको तर्क गरे । ’हामीले संस्कृति र प्रकृति बुझ्नुपर्छ,’उनले भने,‘प्रकृति आँफै निर्माण भएको हो भने संस्कृति हामीले निर्माण गरेका हौँ ।’ समाज जहिल्यैबाट सुरु भएको हो, त्यही समयदेखि संस्कृति निर्माण भएको घिमिरेको तर्क थियो । उनले मानिस बाँच्नका लागि संघर्ष गर्नुपर्ने बताउँदै मानिसले बनाएको घर पनि संस्कृति रहेको बताए । ‘यी तीज, दसैँ, तिहार भनेको संस्कृतिका अंग मात्र हुन्,’ घिमिरेले भने, ‘यीनिहरु मात्र चैँ संस्कृति हैन, मानिसले बनाएका सबै चिज संस्कृति हुन् ।’
सोही कार्यक्रमको अवसर पारेर पूर्वमा रहेर लोक गायन क्षेत्रमा अब्बल रुपमा स्थापित भएकी गायिकाद्धय गंगा गौतम र अञ्जु गौतमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश १ की उप सभामुख सरस्वती पोखरेलले उनीहरुलाई सम्मान पत्रले सम्मान गरिन् । कार्यक्रम विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको सभाध्यक्षमा सम्पन्न भएको थियो भने आमन्त्रित अतिथि एवम् विद्यार्थीहरुले सकारात्मक रुपमा नाचगान गरेर तीज मनाएका थिए ।