धरान: आगामी मंसिर १४ गते धरान उपमहानगरपालिकासहित देशभरमा रिक्त रहेको नगर, गाउँपालिका तथा प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हुदैछ । धरानमा मेयर र वडा नं ७ को वडाअध्यक्ष पदको लागि निर्वाचन हुनेछ ।
धरानमा २०१५ सालमा तत्कालिन समयमा कांग्रेसले जित हासिल गरेको थियो भने त्यसपछिका प्रायः सबै निर्वाचनमा बामपन्थी उम्मेद्वारले जित हासिल गर्दै आएको छ । २०४६ सालको राजनैतिक परिवर्तन पछिको स्थानीय होस् वा प्रतिनिधिसभाको निर्वाचन । २०६२/०६३ पछिको २ वटा संविधानसभा चुनाव होस् वा २०७४ को स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन होस्, सबै निर्वाचनमा यहाँ कम्युनिष्ट उम्मेदवारले जितेका छन् । तर, आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा भने कांग्रेसले जित्ने नेपाली कांग्रेसका धरान सभापति तिलक राईको दाबी छ ।
धरानमा हुने उपनिर्वाचनमा कांग्रेसले जित्ने दाबी गर्नुको प्रमुख कारण यसपाली नेकपाबाहेकका राजनीतिक दलहरुसँग कांग्रेसले कार्यगत एकता गर्ने तयारी हो । यसको लागि विभिन्न चरणमा औपचारिक र अनौपचारिक छलफल भइरहेको उनले बताए । गएको स्थानीयतह निर्वाचनमा एमाले र माओवादी अलगै चुनाव लडेका थिए । दुई पार्टी एकता भइसकेको छ । तरपनि कांग्रेस सभापति राई भने चुनाव जित्ने तर्क गर्छन् । ‘त्यो चुनावमा माओवादीले समाजवादीसहित थुप्रै दलसँग एकता गरेको थियो, र उसको मत ११ हजार हाराहारीमा थियो, तर माओवादीको खास मत ५ हजार जति मात्र हो,’सभापति राईले भने,‘यसपाली साना अन्य दलसँग हाम्रो कार्यगत एकता हुन्छ, र हामी जित्छौं ।’

मेयर पदमा ४ हजार ५ सय हाराहारीमा मतान्तरले कांग्रेस हारेको थियो । यसपाली प्रत्येक वडा कमिटिले कम्तीमा सय मत बढाउने गरी कसरत गरेको र ३ हजार मत बढ्ने सभापति राईको भनाई छ । यो मत आएपछि कांग्रेस गठबन्धनको जित हुने उनको भनाई छ । साना दलको पनि मत आउने भएपछि स्वतः जित हुने राईले बताए । ‘हामी सामुहिक चुनावी एजेण्डा बनाउछौं, र जित पछि नगरपालिका पनि सामुहिक अवधारणाबाट सहकार्य गरेर नै चलाउछौं,’उनले भने ।
यस्तै, साविक एमाले नेतृत्व आएपछि धरानमा कुनै पनि सन्तोषजनक काम नभएको र जनतामा व्यापक वितृष्णा छाएको फाइदा कांग्रेसको गठबन्धनले पाउने उसको अपेक्षा छ । ‘हाम्रो चुनावी नारा नै यथास्थिति कि परिवर्तन रोज्ने भन्ने हुन्छ । यथास्थितिमा उहिले र अहिले पनि नगरपालिका हाँकीरहेको नेकपा हुनेछ, भने कांग्रेस परिवर्तनकारी शक्ति हुनेछ, हामी जनतालाई यही बुझाउछौं,’सभापति राईले भने,‘कम्युनिष्टले सधै धरानमा जित्यो, सांसद जित्यो, तर विकास के भयो ? धरान र धराने जनताले के पायो ? त्यसैले यसपाली धराने जनता परिवर्तनको पक्षमा छन् भन्ने प्रमाणित हुनेछ ।’




































































