विराटनगरः आज असोज ३ गते प्रदेश १ सरकारले पनि संविधान दिवसलाई भव्यताको साथ मनाएको छ ।
प्रदेश राजधानी विराटनगरमा हजारौं सर्वसाधारणहरुको सहभागितामा सरकारले संविधान दिवस मनाएको हो । बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । सहिद रंगशालामा औपचारिक कार्यक्रम पनि आयोजना भएको थियो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले संविधानको सुनिश्चित गरेको जनताको हकअधिकारलाई व्यवहारमा उतार्नुपर्ने चुनौती सबै सामु रहेको बताए । संविधान कार्यान्वयनको लागि कानुन, नियम, नीति, योजना, सँस्कार, पद्दतीको आवश्यकता भएको पनि उनले बताए । प्रदेश सरकार संविधानलाई व्यवहारमा नै लागु गर्ने हरसम्भव प्रयासमा रहेको मुख्यमन्त्री राईले बताए ।
उनले सुखी र समुन्नत प्रदेश परिकल्पना र दृष्टिकोणसहित सरकारले पहिलो आवधिक योजना थालनी गरेको उल्लेख गर्दै कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको पनि मुख्यमन्त्री राईले जानकारी दिए ।
थुप्रै कानुनहरु तयार गरेको उल्लेख गर्दै मुख्यमन्त्री राईले संविधानसभावाट पनि टुंगिन नसकेको प्रदेश राजधानीलाई सर्वसम्मतरुपमा निर्णय गरिएको उदाहरण प्रस्तुत गर्दै प्रदेशको नामांकन पनि सहमतिमा नै छिट्टै टुंगिने विश्वास व्यक्त गरे । ‘आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्य सरकारको छ, हामीले स्पष्ट कार्यक्रम र योजना तयार गरेका छौ,'मुख्यमन्त्री राईले भने'सार्वजनिक सेवालाई व्यवस्थित, कम खर्चिलो र पहुँच योग्य बनाउन सरकारी निकायहरुको कार्यप्रणालीमा पनि सुधार थालिएको छ ।’
भ्रष्टाचार नियन्त्रण र सुशासनको माध्यमबाट नै संविधानले स्थापित गरेको लोकतान्त्रिक शासन पद्दतीको मर्मलाई थप मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । सरकार भ्रष्टाचारमा शुन्यसहनशीलता र सुशासनको पक्षमा रहेको पनि मुख्यमन्त्री राईले बताए । समारोहमा प्रदेश प्रमुख डा. गोबिन्द बहादुर तुम्बाहाङ, प्रदेश सरकार मन्त्रीहरू, उपसभामुख सरस्वती पोखरेल, सांसदहरु, विभिन्न दलका नेताहरू, सेना तथा प्रहरीका प्रमूख, सचिव तथा कर्मचारीहरू, नागरिक समाजका प्रतिनिधी, पत्रकार, बिद्यार्थी र विभिन्न जातजाती र समुदायको उपस्थिती थियो । यस्तै नेपाली सेना, प्रहरी, स्काउट र बिद्यार्थीहरूले मार्चपास पनि गरेका थिए भने विभिन्न समुदायको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । नेपाली सेनाले मार्शल आर्ट कला पनि प्रदर्शन गरेको थियो।
तीन व्यक्तित्वलाई सम्मान
प्रदेश सरकारले विभिन्न क्षेत्रका तीन जना व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राष्ट्रिय गानका सर्जक ओखलढुंगाका व्याकुल माइला(प्रदिपकुमार राई), २४ पटक सगरमाथा आरोहण गरेर विश्वकिर्तिमान गर्न सोलुखुम्बुका कामीरिता शेर्पा र अल्ट्रा म्याराथुन धाविका भोजपुरकी मीरा राई रहेकी छिन् । उनीहरुलाई जनही नगद ५ लाखसहित सम्मान गरिएको हो । तस्बिर स्रोत: रवि खनाल/आन्तरिक मामिला तथा कानुन मन्त्रालय