धरान: धरान १८, बुद्धचोकमा रहेको एनीटाइम फिटनेशका उत्तम खत्रीले २० औं मिस्टर धरानको उपाधि जितेका छन् ।

धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा शनिबार सम्पन्न प्रतियोगितामा खत्रीले मिस्टर धरानको उपाधि जितेका हुन् । उनले उपाधि ट्रफीसँगै नगद एक लाख हात पारे । यस्तै, प्रतियोगितामा धरान फिटनेश क्लबका ऋतिक घिमिरे दोस्रो भए । उनले मेडल र ५० हजार हात पारे । यस्तै, भिजन फिटनेशका विनोदकुमार नेपाली तेस्रो भए । उनले नगद ३० हजार र मेडल जिते । चौथो आवर फिटनेशका असित राई घोषित भए । उनले २० हजार र मेडल हात पारे भने आवर फिटनेशकै विनोद तामाङ पाँचौं भए । उनले मेडल र नगद १५ हजार हात पारे ।

mr-dharan1

प्रतियोगिता सुनसरी जिल्ला बडिबिल्डिङ तथा फिटनेश संघले आयोजना गरेको थियो । आयोजक संघका अध्यक्ष चन्दन श्रेष्ठका अनुसार प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ तौल समुहमा प्रतिस्पर्धा भएको थियो । तौल समुहमा पनि दोस्रो र तेस्रो हुनेलाई १० हजार र ५ हजार पुरस्कार दिइएको थियो । ७० केजी तौलमा ४ जना प्रतिस्पर्धा भएकोले चौथोलाई पनि २ हजार ५ सय पुरस्कार दिइएको थियो ।

प्रतियोगितामा नगर खेलकुद विकास समितिका सदस्य तथा युरेका रेसिडेन्सियल स्कुलका सञ्चालक राजेन्द्र गुरुङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अवतार श्रेष्ठलाई पनि सम्मान पनि गरिएको थियो । उनी ७० केजी तौल समुहमा दोस्रो भएका थिए ।