काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ ।
नेकपाका एक शीर्ष नेताका अनुसार महराका सामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरु विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार विहानै भेट गरिसकेका छन् । सम्भवतः महराले आजै राजीनामा दिनेछन् । नेकपा सचिवालयका एक सदस्यले भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीले हिँजोदेखि नै महराजीलाई यसको संकेत गरिसक्नुभएको छ । घटनाक्रमहरु जसरी आए पनि ती महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रुपमा मिल्दैन । उहाँले राजीनामा दिएर सत्य तथ्य बाहिर ल्याउन सघाउनु उपयुक्त हुन्छ ।’
स्रोतका अनुसार महराले आफूमाथिको आरोप खण्डन गरेपनि उनी हतास अवस्थामा छन् । के गर्ने भन्ने बारे उनले परामर्श गरिरहेका छन् । आजै साँझसम्म महराले राष्ट्रपति समक्ष राजीनामा दिने सम्भावना पनि छ । बलात्कार जस्तो संगीन आरोप लागेपछि सभामुख पदमा रहिरहन महरालाई नैतिक र राजनीतिक संकट हुनेछ । सभामुखलाई पदबाट हटाउन महाअभियोग लगाउने विकल्प हुन्छ । तर, महाअभियोग लगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग एक चौथाइ संख्या पनि प्रतिनिधिसभामा छैन ।
सभामुखमाथि गम्भीर आरोप लागेकाले नेकपाले नै निकास दिनुपर्ने देखिन्छ । अधिकांश नेता र सांसदहरुले महराले राजीनामा दिनुपर्ने भनेका छन् ।
https://www.onlinekhabar.com बाट साभार गरीएको