धरान: इटहरीबाट सक्रिय पत्रकारिता गर्दै आएका विराट अनुपमसहित ४ जना युवाहरुले सगरमाथा आधार शिविरमा भोक हड्ताल गरेका छन् ।

समगरमाथा आधार शिविर पुगेका उनीहरुले साहसिक पर्यटन प्याकेजको प्रचार तथा वातावरणीय न्यायको लागि भन्दै ४ घण्टा भोक हड्ताल गरेका हुन् । भोक हडताल गर्नेहरुमा पत्रकार विराटसँगै निजामति कर्मचारी सुरेश कार्की, नेकपा सुनसरीका नेता भीम प्रसाद सुवेदी (सागर) र युवा उद्यमी सन्तोष निरौला पनि हुन् । उनीहरुले हिजो बुधबार बिहान १० बजेदेखि २ बजेसम्म आधार शिविरमा भोक हड्ताल गरेका थिए । समगरमाथा आधार शिविरको उचाई ५ हजार ३ सय ६४ मिटर छ ।

पत्रयात्रा गर्दै सगरमाथा आधार शिविर पुगेका यो टिमले २४ घण्टा भोकहड्तालको कार्यक्रम तय गरेका थिए । तर, अत्यन्तै धेरै हिउँ पर्ने र प्रतिकुल मौषम हुने भएकोले ४ घण्टामा कार्यक्रम घटाइएको टिमका प्रवक्ता एवं पत्रकार विराट अनुपमले जानकारी दिए । उनका अनुसार यो भोक हडताल जलवायु परिवर्तनलाई न्यायोचित सम्बोधन गर्न भएको सन २०१६ को पेरिस सम्झौता, स्विडेनकी वातावरण अभियान्ता ग्रेता तुलवर्गको अभियानको समर्थनको लागि भएको हो । यस्तै, नेपाल सरकारले जलवायु परिवर्तन बारेमा सन २०२० मा गर्न लागेको सगरमाथा संवाद र प्रदेश १ सरकारले बनाउने घोषणा गरेको नेपालको होचो स्थान केचनादेखी सगरमाथासम्मको इको फास्ट ट्याकको समर्थनको लागि पनि आधार शिविरमा भोकहड्ताल गरिएको उनले बताए ।

base-camp1

चार घण्टाको भोकहड्तालमा विभिन्न देशका १६ ट्रेकरहरुले आधार शिविरमा नोट लेख्दै समर्थन गरेको पनि प्रवक्ता अनुपमले जानकारी दिएका छन् । उनीहरु व्यक्तिगत लगानीमा आधार शिविरसम्म गएका हुन् । भोक हड्ताल सोलुखुम्बुका प्रजिअ बेदनिधी खनालसँग अनुमति लिएर नै भएको थियो । हड्ताललाई काजी बिष्टले २ बजे जुस खुवाएर तोडाएका थिए । विष्ट सोलुखुम्बुको खुम्जुङ माविका पुर्व शिक्षक तथा विश्वको सबैभन्दा अग्लो ५०५० मिटर उचाईमा सोलुखुम्बुको लोबुचेमा रहेको पिरामिट रिसर्चका म्यानेजर हुन् । यो सबैथोक होइन, तर वातावरणिय न्यायको आवाज बुलन्द गर्ने एक झिल्को प्रकाश अवश्य हो, सामाजिक सञ्जाल फेसबुकमा विराट अनुपमले भनेका छन् ।

base-camp