धरान: मंसिर १४ गतेको उपनिर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म धरान क्षेत्रको होटल तथा रेष्टुरेष्टहरु राती ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज आइतबार भएको सर्वदलीय बैठकमा सुरक्षाको कारण राती ९ बजेसम्म मात्र होटल तथा रेष्टुरेष्ट खुला गर्ने सहमति तथा निर्णय भएको हो । सुरक्षा निकायले हिजोआज विभिन्न दलहरुले चुनावी घरदैलो अभियान सकेर कार्यकर्ताहरुलाई होटल तथा रेष्टुरेष्टमा लैजाने गरेको र झगडाको संख्या वृद्धि हुन थालेकोले राती ९ बजेसम्म मात्र होटल तथा रेष्टुरेष्ट खोल्न प्रस्ताव गरेको थियो । सुरक्षा निकायको प्रस्तावमा राजनीतिक दलहरुले सहमति जनाएका थिए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार सोमबारदेखि यो निर्णय लागु हुनेछ । जसअनुसार अहिले राती ११ बजेसम्म खुला रहने धरानको होटल तथा रेष्टुरेष्टहरु अब राती ९ बजे नै बन्द गर्नुपर्नेछ । ‘सर्वदलीय छलफलमा यो सहमति भएको हो, निर्वाचनको अन्तिम मतपरिणाम नआउदासम्म लागु हुन्छ,’डिएसपी न्यौपानेले भने । छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेती, सुनसरीका प्रजिअ राजेश पौडेल, एसपी यज्ञविनोद पोखेलले पनि सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिताको बिषयमा राजनीति दलका उम्मेदवार तथा प्रतिनिधिहरुको जिज्ञासाको जवाफ दिएका थिए ।