इटहरी:इटहरी २० का राजन कोईरालाले मोटरसाईकलको सवारी चालक अनुमती पत्र झिक्नका लागि पैसा तिर्न सोमबार करीब ४ घण्टा लाईनमा बसे ।

तर, उनी लाईनमा बसे पनि पैसा तिर्नका लागि निकै सकस थियो । यहाँ बिचौलियाको बिगबिगीका कारण पनि समस्या हुने गरेको उनको गुनासो छ । ‘आइतबारदेखि बुधबारसम्म विहान ६ बजेदेखि राती १० बजेसम्म अनलाईन फारम भर्न मिल्ने यातायात कार्यालयले सूचिन गरेको भएपनि जति पटक आफूले कोशिस गरेपनि हुँदैन,’कोईरालाको गुनासो थियो,‘तर यहाँ बिचौलियालाई ५ सय देखि १ हजार रुपैँयासम्म दियो भने तत्काल फारम भरिन्छ ।’

उनले फारम नलाग्ने भएपनि बिचौलियाले शुल्क लिएर फारम भरिदिने गरेको बताए । कोईरालाका अनुसार यहाँ बिचौलियाले के कति कामले आएको भन्दै बार्गेनिङ समेत गर्ने गरेका छन् । ‘१५ हजार दिनुस् लाइसेन्स घरमै आउँछ भनेर पनि भन्ने गरेका छन्,’उनले गुनासो गर्दै भने,‘यहाँ पैसा नखुवाईकन कामनै हुँदैन तर बिडम्बना हामी जस्ताको पहुँच छैन ।’ उनले पहुँचवालाको मात्र यहाँ काम हुने आरोप लगाउँदै भने, कार्यालय प्रमुखको त कुरै जाओस् सम्बन्धित अन्य निकाय पनि बेखबर रहेका छन् ।

yatayaat1

त्यस्तै, सवारी चालक अनुमति पत्र झिक्नका लागि पैसा तिर्नका लागि आएका उदयपुरका रामप्रसाद पौडेलले भने आँफू घण्टौँ लाइन लाग्दा समेत काम नहुने गुनासो गरे । उनले भने,‘हामी घण्टौँदेखि लाईनमा छौँ, तर यहाँ एकैछिनमा आएर सुटुक्क काम गरेर जानेहरु पनि छन् ।’ उनले बिचौलियालाई पैसा खुवाउँदा मात्र काम हुने उदृत गर्दै भने, ‘हामीहरुले पैसा खुवाउँन सकिदैँन, पैसा नखुवाई काम नै हुँदैन ।’ उनले पैसा खुवाउँदा मात्र काम हुने तर्क गरे । सवारी चालक अनुमति पत्रका लागि आँफूहरु दैनिक लाईनमा बसेर काम गर्दा पनि नहुँने र तत्काल पैसा दिए काम हुने गरेको प्रति उनको आपत्ती रहेको थियो ।

यी माथिका दुई प्रतिनिधि पात्र मात्र हुन् । यातायात कार्यालय कोशीमा यस्ता पीडित मानिस दैनिक सयौँको संख्यामा छटपटाइरहेका हुन्छन् । तर, यस बिषयमा सम्बन्धित निकाय भने बेखबर रहेको छ । अहिले निर्माणाधिन ६ लेन सडकमा पार्किङ गर्दैै आएको यातायात कार्यालय परिसरमा दुर्घटना हुने समेत जोखिम रहेको छ । भाडामा बस्दै आएको यातायात कार्यालयको आफ्नै पार्किङ स्थल नहुँदा सडकमा पार्किङ गर्दै आएको छ । यसकारण पनि दुर्घटनाको जोखिम रहेको छ । तर, यस बिषयमा भने यातायात कार्यालयले कुनै चासो देखाएको छैन । यता यातायात कार्यलय इटहरीकी कामु प्रमुख बिन्दा नेपालसँग पटक-पटक सम्पर्क गरेपनि उनको फोन उठेन ।