झापा: महान्यायाधिवक्ता अग्नि खरेलले झापाका जनप्रतिनिधिलाई मान्छे पक्राउ परेपछि छुटाउन लाग्नु भन्दा सत्यतथ्य थाहा पाउनतर्फ लाग्न आग्रह गरेका छन् ।
झापा जिल्ला सरकारी वकिलको कार्यालय उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले दोषी छुटाउने पक्षमा नलाग्न आग्रह गरेका हुन् । ‘कानुन भन्दामाथि कोही छैन, सबैभन्दा माथि कानुन छ,’उनले भने,‘ठुला पनि कानुनको फन्दामा छन्, पछिल्लो समयलाई हेरे हुन्छ ।’ पछिल्लो समय थुनामा रहेका सभामुख, सांसद लगायतप्रति उनको भनाई लक्षित थियो । पत्रकारले समाचार लेख्दा मुद्दा प्रभावित भएको तर्क गर्दै महान्यायाधिवक्ता खरेलले प्रमाण नष्ट गर्न सक्ने अवस्था नभए बाहिरै छोडेर पनि अनुसन्धान गर्न सकिने बताए । उनले भने,‘सबैलाई थुनामा राखेर मात्र अनुसन्धान हुनसक्छ भन्नु भ्रम हो, हामी दोषीलाई सिक्रीले होइन, प्रमाणले बाँध्न चाहन्छौं ।’
तीन करोड ७१ लाख ९० हजार रुपैयाँमा निर्मित २६ कोठे जिल्ला सरकारी वकिलको कार्यालय भवन उद्घाटनपछिको समारोहमा महान्यायाधिवक्ता खरेलले झापा लागू औषधको ट्रान्जिट रुट बन्न थालेकोमा चिन्ता व्यक्त गरे । यो अवस्थालाई बदल्न जनप्रतिनिधि लाग्नु पर्ने उनको तर्क थियो । प्रहरीले सबै मुद्दा चलाउनुपर्छ भन्ने लेखेर पठाउँदा सरकारी वकिलको कार्यालयमा अनावश्यक चाप बढेको उल्लेख गरे । सो अवसरमा अर्को फरक प्रसंगमा उहाँले छाउपडी प्रथा र विभेद अन्त्यका लागि अपराध संहिताको दफा १६८ कार्यान्वयन गराएर छाड्ने दृढता व्यक्त गरे । उनले भने, ‘छाउपडीमा पठाउने र जाने दुबैलाई कार्वाही हुन्छ । जाहेरी परेन भनेर अपराध भएको टुलुटुलु हेरेर बस्न सकिन्न ।’
उनले मंसिर १ गतेदेखि समुदायमा सरकारी वकिल अभियान सञ्चालन भइरहेको जानकारी दिँदै सबै प्रकारका विभेदविरुद्ध सक्रिय हुने बताए । वरिष्ठ मुख्यन्यायाधिवक्ता खगराज पौडेललको अध्यक्षतामा भएको समारोहमा प्रदेश सांसद पूर्णसिंह राजवंशी, जिल्ला न्यायाधीश युवराज गौतम, जिल्ला समन्य समितिका प्रमुख सोमनाथ पोर्तेल, झापा वारका अध्यक्ष लेखनाथ निरौला, भद्रपुरका मेयर जीवन श्रेष्ठ, विर्तामोडका मेयर धुब्र सिवाकोटी, प्रमुख जिल्ला अधिकारी उदय राना मगर लगायतका वक्ताले भौतिक संरचना निर्माणसँगै सेवा प्रभावकारी बन्नुपर्ने धारणा व्यक्त गरे ।

































































