काठमाडौँ: उपसचिव दशरथ धमलाले संघीय संसद सचिवालयको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन् ।
संसद सेवा दिवसको अवसरमा आज संघीय संसद भवनमा आयोजित बिशेष कार्यक्रममा एक लाख नगदसहित धमलाले सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार पाएका हुन् । उनले ५ सय जना कर्मचारी मध्ये सर्वोत्कृष्ट पुरस्कार पाएका हुन् । सुचना अधिकृतसमेत रहेका धमलालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले पुरस्कार हस्तान्तरण गरेका थिए ।
हरेक वर्ष संसद सेवामा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरिन्छ। कार्यसम्पादन मूल्यांकनका आधारमा कर्मचारीलाई पुरस्कृत गरिन्छ। सचिवालय संचालन तथा व्यवस्थापन समितिले पुरस्कृत हुने कर्मचारीको नामलाई अन्तिम रुप दिने गरेका छन् ।
सोही कार्यक्रममा ७५ हजार रुपैयाँको उत्कृष्ट कर्मचारी पुरस्कार रेणुका सुवेदीले प्राप्त गरिन् । जनही ५० हजार रुपैयाको संसद सेवा पुरस्कार संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीद्धय जंगबहादुर मगर र गम्भीरमान सिंहले पाए । संसदको वृहद सेवा पदक संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत ३७ जनाले पाए । यो पदक संसद सेवामा ३० वर्ष काम गरेका कर्मचारीलाई दिने गरिन्छ ।