धरान: धरानको विभिन्न स्थान र समयमा लागुऔषधका पाँच जना कारोबारी पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई एकैदिन हिजो शनिबार भिन्न स्थान र समयमा पक्राउ गरेको हो । उनीहरु सबैलाई लागुऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । पक्राउ परेकाहरुलाई लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि उनले खुलाए ।

प्रहरीका अनुसार हिजो शनिबार बिहान १० बजे धरानको वडा नं २० विष्णुपादुकास्थित अछामे डाँडाबाट दुई जना गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी २० तरहराका २१ बर्षीय बाबु बुढाथोकी र १९ बर्षीय निरन राई रहेको प्रहरीले जानकारी दिएका छन् । उनीहरुको साथबाट २ केजी गाँजा पनि वरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए ।

यस्तै, शनिबार नै दिउँसो ४ बजे धरान ११ स्थित मणिकुमार लिम्बुको कोठाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । पक्राउ पर्नेमा ३२ बर्षीय मणिकुमारसँगै बराहक्षेत्र नगरपालिका ३ का ३० बर्षीय विष्णुकुमार लिम्बु रहेका छन् । उनीहरुको साथबाट एभिल १३ एम्पुल, डाइजेल्याब १३ एम्पुल र लुपिजेसिक १३ एम्पुल वरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरि, शनिबार नै दिउँसो ४ बजे धरान ८ तिनकुनेस्थित चेकपोइन्टबाट धरान १५ श्यामचोकमा २३ बर्षीय सुमन परियार पनि लागुऔषधसहित पक्राउ परेका छन् । उनको साथबाट डाइजेल्याब ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल र एभिल ३ एम्पुल वरामद भएको प्रहरीले जनाएको छ ।