सुनसरी: इटहरी उपमहानगरले पहिलो पटक गर्भ जाँच गराउन आउने प्रत्येक महिलालाई शुभकामना तथा बधाई कार्ड दिने भएको छ ।
कार्डमा तपाई गर्भवती हुनुभएकोमा बधाई तथा शुभकामना भन्ने व्यवहोरा लेखिएको हुने छ । सोही कार्डको पछाडीपट्टि भने गर्भवती अवस्थामा के के गर्नुपर्छ र के के सावधानी अपनाउनुपर्छ भन्ने जानकारी उल्लेख गरिएको हुनेछ । यसैगरि विवाह दर्ता गर्न आउने प्रत्येक दम्पतिलाई समेत दाम्पत्य जीवनको शुभकामना उल्लेखित कार्ड दिइने छ । कार्डको पछाडी भने सन्तानको चाहना राख्दा अपनाउनुपर्ने सावधानी र अपाङ्गताहुन नदिन के गर्नुपर्छ भन्ने जानकारी लेखिएको हुने छ ।
इटहरीमा माघ १ गते देखि सुरु हुन लागेको तीन बर्षे अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत कार्ड दिइने भएको हो । यो कार्यक्रम अन्र्तगत इटहरीका सवै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक एक वटा मोवाइल प्रदान गरिने छ । उनीहरुले प्रत्येक गर्भवतिको अनलाइन दर्ता गराउने छन । सिस्टमलेनै गर्भ जाँच गराउने जानकारी दिने छ र महिला स्वयंसेविकाहरुले जाँच गराउन उत्प्रेरित गर्ने छन । गर्भअवस्थादेखिनै अपाङ्गताहुन रोक्न यस्तो अभियान सुरु गरिएको हो ।
सुत्केरी पछि ५४ घण्टा,तीन दिन र सात दिन भित्र सुत्केरी महिलाको वोक्न मिल्ने अल्ट्रासाउण्ड मेसिन सहितका सहजकर्ताहरुले घरमै पुगेर स्वास्थ्य जाँच गर्ने छन ।सामाजिक विकास मन्त्रालय,इटहरी उपमहानगर र करुण फाउण्डेसनको त्रिपक्षीय लगानीमा सो कार्यक्रम संचालन हुने छ । कार्यक्रम अन्र्तगत अपाङ्गता हुनै नदिन रोकथामका कार्यक्रम, अपाङ्गता भएकाहरुलाई पूर्नस्थापना र सहयोग तथा क्षमता अभिवृद्धि गरि आत्मनिर्भर वनाउने कार्यक्रमहरु संचालन गरिने छ ।
आज आइतबार इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले चार करोड ३६ लाख १४ हजार ७० रुपियाँको सम्झौता पत्रमा हस्ताक्षर गरे । करुणा फाउण्डेसनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक कमल कोइरालाका अनुसार इटहरीका सवै अपाङ्गता भएकाहरुले तथ्यांक संकलन गरि प्रोफाइल तयार गरिने छ । उनीहरु के चाहन्छन लक्ष्य निर्धारण गरि सोही अनुरुपको क्षमता अभिवृद्धिका तालिमहरु संचालन गरिने छ । सवै टोलमा अपाङ्गताभएकाहरुको समूह,वडा र पालिका स्तरीय समिति गठन गरिने छ । समिति मार्फत क्षमता गरि विभिन्न संघ सस्था,सहकारीको नेतृत्वमा पुग्न अभिप्रेरित गरिने छ ।