धरान : स्वयम्भू चैत्य महाविहारको धरान १२ मा सम्पन्न अधिवेशनबाट कुल बहादुर शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
११ जनाको कार्यसमितिमा उपाध्यक्षमा पूर्णकाजी शाक्य, सचिवमा अमृतमान शाक्य, सहसचिव विजय शाक्य, कोषाध्यक्ष विन्दु प्रसाद शाक्य र सदस्यहरुमा राम शाक्य, सुजना शाक्य, सृजना शाक्य, सविना शाक्य, चन्द्रमाया शाक्य, हिराकाजी शाक्य चयन भएको घोषणा निर्वाचन अधिकृत विमल शाक्यले गरे ।
मंगलबार स्वयम्भू चैत्य महाविहार धरान १२ मा सम्पन्न अधिवेशनमा निवर्तमान अध्यक्ष देवरत्न शाक्यले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण कार्यक्रमको चर्चा गर्दा कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरे । २०२५ सालमा शाक्य जातीको चुडाकर्म गर्ने उद्देश्यले विहारको स्थापना र २०२७ साल देखि विधिवत दर्ता भएको थियो । विहारले वुद्ध शिक्षाको आचरण लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । अधिवेशनमा आजु आनन्द कुमार वज्रचार्य, दिल बहादुर शाक्य, लक्ष्मी शाक्य, देवराज शाक्य, दान बहादुर शाक्य, राम बहादुर शाक्यलाई सम्मान गरिएको थियो । यसैगरी विहारको विकासमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरु टिकाराज शाक्य, पूर्णकाजी शाक्य, नरेश शाक्य र विमल शाक्यलाई सम्मान गरिएको थियो ।
साधरण सभामा संस्थाको प्रतिवेदन सचिव सुश्री विद्या शाक्य र कोषाध्यक्षको प्रतिवेदन विन्दु प्रसाद शाक्यले प्रस्तुत गरे । धरानमा रहेका शाक्य जातीको चुडाकर्म गर्न काठमाण्डौं वा भोजपुरसम्म जानुपर्ने समस्यालाई हल गर्न यस विहारको स्थापना गरिएको जनाएको छ ।







































































