धरान: साँस्कृतिक तथा पर्यटन उत्सव, महोत्सव भनेर आयोजना हुने कार्यक्रमहरुमा पप, रक शैलीका गीत, संगीत मात्र प्रस्तुत हुने गर्छ । सँस्कृति जोगाउने उद्देश्य भनिए पनि त्यस्ता उत्सवहरुमा सँस्कृति भने विलाउछ ।
धरानमा दुई दिनदेखि जारी धरान महोत्सव भने फरक रह्यो । शनिबार यहाँ पुर्वेली लोक भाका एवं दोहोरी प्रस्तुत भयो । जसले महोत्सव अवलोकन गर्न आएका सर्वसाधारणहरु औधी रमाए । कार्यक्रमको उद्घाटन नै प्रमुख अतिथि एवं प्रतिनिधिसभाका सांसद जयकुमार राईले पुर्वेली लोक भाका गाएर गरेका थिए । उनले दिक्तेल बजार..भाकामा गीत गाउदा सहभागीहरु अचम्मित पनि बनेका थिए ।
सांसद राईले गाएको गीत यस्तो थियो,
मरिगए माटैको सिरानी
नौली बहिनी चिनजानै गरौली
खोटाङ जिल्ला दिक्तेल बजार
सम्झानामा आउछ हजार..।
सांसद राईले लोकभाका गाएर उद्घाटन गरेपछि झण्डै अढाई घण्टा महोत्सवस्थल धरान १२ स्थित पब्लिक उच्चमाविको मैदान पुर्वेली लोकभाकामय बन्यो । महोत्सवको दोस्रो दिन धरान प्रज्ञा प्रतिष्ठानको संयोजनमा पुर्वेली लोकदोहोरी कार्यक्रम आयोजना भएको थियो । कलाकारहरुले स्टेजमा प्रत्यक्ष पुर्वेली भाका गाएका थिए । उनीहरुले गीत गाउदा मैदानमा महोत्सव अवलोकन गर्न आएका सर्वसाधारणहरु छमछमी नाचेर रमाए ।
अतिथि कलाकारहरुबाहेक पनि धरानका ४ वटा लोक दोहोरी टिम थियो । ती टोलीले पुर्वेजाने रेल, दिक्तेल बजार, लाइछौं वेसन र झयाम्मै चौतारी भाकामा लोकगीत गाएका थिए । धरान महोत्सवलाई फरक तरिकाले मनाउन पुर्वेली लोक दोहोरी कार्यक्रम आयोजना गरिएको धरान उपमहानगरपालिकाले जनाएको छ । प्रमुख अतिथि एवं सासद जयकुमार राईले धरानलाई तीनै तहको सरकारले पर्यटकीय सहर बनाउनुपर्ने धारणा राख्दै कला, सँस्कृति, परम्पराहरुको संरक्षणसँगै प्रर्वद्धन पनि गर्नुपर्ने बताए ।
धरान स्थापना दिवससँगै नेपाल भ्रमण बर्ष २०२०लाई सफल बनाउन धरान उपमहानगरपालिकाले ३ दिने महोत्सव आयोजना गरेको हो । महोत्सवस्थलमा धरानमा उत्पादन भएको कृषि, हस्तकला, घरेलु उत्पादनहरुको स्टल राखिएको छ भने विभिन्न जातीय खानाको परिकारको स्टलहरु पनि छ । यस्तै पुष्प प्रर्दशनी, विभिन्न विद्यालयहरुको शैक्षिक प्रर्दशनी, होटलहरुको स्टल पनि रहेको छ भने निःशुल्क स्वास्थ्य परीक्षण पनि भइरहेको छ ।