इटहरी : विभिन्न कारण देखाउँदै इटहरी उपमहानगरपालिकाका इञ्जिनियरहरुले धमाधम राजीनामा दिँदा सेवाग्रहीलाई मर्का परेको छ ।
एकपछि अर्को गर्दै इञ्जिनियरहरुले राजीनामा दिएपछि सेवाग्राही मारमा परेका हुन् । एक हप्ताअगाडी इटहरी उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर अर्जुन दाहालले राजीनामा दिए । उपमेयर लक्ष्मी गौतमले आफुलाई बारम्बार फोन र म्यासेजमा धम्की दिएकाले आफूले काम गर्न नसक्ने अवस्था नभएको भन्दै उनले सामाजिक सञ्जालमै राजीनामा पत्र लेखेर राजीनामा दिएका हुन् ।
आफ्नो कार्य सम्पादनको विषयमा बारम्बार असन्तृष्टि राखेको र जति सम्झाउँदा पनि नभएकाले राजीनामा दिन बाध्य भएको उनको भनाई छ । अर्जुन दाहालले आफूले गरेको काम उपप्रमुखलाई मन नपरेपछि राजीनामा बुझाएको बताएका छन् । तर उपप्रमुखलाई आरोप लगाउँदै दिएको निवेदन दर्ता नभएपछि पुनः राजीनामा पत्र उपमहानगरमा दर्ता गराएका हुन् ।
यता विहीबार इटहरी उपमहानगरपालिका घर नक्स शाखाका प्रमुख यञ्जिनियर विकास भट्टराईले पनि प्रमुख प्रशासकिय अधिकृतमार्फत् मौखिक र लिखित राजीनामा बुझाएका थिए । घरायसी काम देखाउँदै उनले राजीनामा दिएको उपमहानगरपालिकाका एक कर्मचारीले बताए । उपमहानगरपालिकामा कर्मचारीहरुलाई असहज एवम् नातागोता र पार्टी हाबी भएको भन्दै राजीनामा दिएको कर्मचारी स्रोत बताउँछ । -ब्लाष्ट टाइम्सबाट