काठमाडौं : नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र पर्यटनमन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ ।
पर्यटन बोर्डको आइतबार साँझको बैठकमा नयाँ सिईओको नाम सिफारिस गर्ने बताइए पनि अर्को सूचना नआएसम्म स्थगित गरिएको छ । बोर्डका तत्कालीन सीईओ दीपकराज जोशीको कार्यकाल पुसको दोस्रो साता सकिएपछि नयाँ प्रमुख नियुक्त गर्न बोर्डका सदस्य विप्लव पौडेलको संयोजकत्वमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यय र बोर्डका अर्का सदस्य कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको थियो ।
सो उपसमितिले डा. धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको छ । पर्यटनमन्त्रीले डा रेग्मीलाई नियुक्त गर्ने योजनामा बनाएकोमा प्रधानमन्त्री कार्यालय सकारात्मक नहुँदा सीईओ नियुक्ति तत्काल अगाडि बढाउन रोकिएको सदस्यहरुकै आरोप छ ।