धरान : धरान उपमहानगरपालिकाको आ.व.०७६/७७ मा लक्षित समुदायका लागि बिनियोजित बजेट अन्तर्गत दलित समुदायको आर्थिक विकास लागि दलित विकास समितिले माघ २२ गतेबाट इलेक्ट्रोनिक तथा वायरिङ तालिम सञ्चालन गरेको छ ।
तालिमको उ्घाटन गर्दै समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा दलित अधिकारकर्मी सुनिता मरिक डोमले दलितहरु रसायनशास्त्री भएको बताइन् । बैज्ञानिकहरुलाई राज्यसत्ता सञ्चालकहरुले कालान्तरमा दलित बनाएकोले यस अवस्थाबाट मुक्त हुन सबै दलितहरु सचेत, संगठित र क्रियाशील हुन आव्हान गरेकी छन् । धरानमा दलित समुदायका लागि देशकै लागि उदाहरणीय काम गरेको भन्दै देशका अन्य क्षेत्रमा दलितहरुको अवस्था गम्भिर भएको बताइन् । धरानमा ११ जना दलित बर्गका युवाहरुले तालिममा सहभागिता जनाएका छन् । १ महिनासम्म धरान ९ स्थित टप युनिभर्सल एकेडेमीमा सञ्चालन हुने तालिममा प्रशिक्षक धनबहादुर नेपालीले सहजीकरण गर्नेछन् । प्रशिक्षक नेपालीले आफुले सिटीइभिटीबाट प्रशिक्षण लिई करिब २ दशकदेखि काम गर्दै आएको बताए । उनले तालिम पश्चात् स्वरोजगार बन्ने र आर्थिक आयआर्जन गर्न सकिने बताए ।
सैद्धान्तिक तथा व्यवहारिक तालिम लिएर आत्मनिर्भर बन्नुका साथै व्यवायिक रुपमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले बताए । उनले चालू आर्थिक वर्षमा सिप तथा आयआर्जनका लागि ब्यूटिसियन, कम्प्युटर, इलेक्ट्रोनिक तथा वायरिङ र कुक तालिम सञ्चालन गरिएको बताए । ब्यूटिसियन र कम्प्युटर तालिम धमाधम भईरहेको र कुक तालिमको तयारी भइरहेको जानकारी दिए । दलित विकास समितिले गत आर्थिक वर्षहरुमा सिलाई कटाई, पत्रकारिता, उद्घोषण, ड्राइभिङ लगायतका तालिम सञ्चालन गरेर सयौ व्यक्तिलाई स्वरोजगार बनाएको बताए ।
समितिका संयोजक किशोर परियारको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा टप युनिभर्सल एकेडेमीका डाइरेक्टर प्रकाश लकान्द्री, दलित विकास समितिका सदस्य रामधारी बासफोर, धनबहादुर हमाल, रामकुमार दास, सकुन्तला भुषाल, सञ्चारकर्मी खिलानाथ कोइराला, तेजेन्द्र लामिछाने लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा खगेन्द्र नेपालीले स्वागत मन्तव्य राखेका थिए ।


































































