धरान : प्रणय दिवस (भ्यालेन्टाइन डे) का दिन धरानमा एक जोडीले आत्महत्याको प्रयास गरेका छन् । शुक्रबार भ्यालेन्टाइन डेका दिन धरानको शिवजट्टा जाने बाटोको गैरीगाउँका बासिन्दाले भ्यालेन्टाइन डेमा केटा र केटी घुम्न आए भन्ने सोचेका थिए । तर ती जोडीले एकाएक आत्महत्याको प्रयास गर्न थालेपछि उनीहरु अचम्मित भए ।

गाउँमा हल्लाखल्ला भयो । केटाले बियरको बोटल फुटाएर घाटिमा रेट्न खोजे । अनि नजिकै सिउरिएर राखिएको फलामको रडले आँफै घोपिन पुगे । यसरी आत्महत्याको प्रयास गरिरहेका युवयुवतीलाई गाउँलेले रोके ।

ती युवा बेहोस भए । युवती ती युवाको नजिकै घोप्टिएर रुन थालिन् । गैरीगाउँबासीले प्रहरीलाई खबर गरे । प्रहरी नआई घाईतेलाई उद्दार गर्न पनि स्थानीय डराए । प्रहरी आएपछि घाइते युवालाई उपचारका लागि अस्पताल लगियो । घाइते युवाको अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

आत्महत्या प्रयास गर्ने युवा सहिदभूमी गाउँपालिका ६ छिन्ताङ धनकुटाका रुकमान राई रहेको प्रहरीले जनाएको छ । आत्महत्या प्रयास किन गरे भन्नेबारेमा केही खुलिनसकेको प्रहरीले जनाएको छ ।