काठमाडौं : सबै विद्यार्थी संगठन एकमत हुन नसकेकाको कारण देखाउदैं त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए । ‘सबै विद्यार्थी संगठन एकमत हुन नसकेकाले स्ववियू चुनाव स्थगित भएको छ’ उनले भने ।
त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आफूहरुसँग छलफल नगरी मिति तोकेको भन्दै असहमति जनाएको थियो । उसले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न माग गरेको थियो ।