धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षबाट हटाइएको बीपी कोइरालाको तस्बिर फेरी यथास्थानमै राखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा राखिएको तस्बिर हटाइएको भन्ने जानकारी पाएर प्रतिष्ठान पुगेको नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलले हटाइएको भनिएको बीपीको तस्बिर यथा स्थानमै राखेको तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठले बताए ।

तस्बिर हटाएर फालेको नभै उपकुलपतिको कार्यकक्षको पहिलाको ठाउँबाट हटाएर एक साइडमा राखिएको थियो । ‘पहिला बिचमा थियो । त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राखेर एक साइडमा राखिएको रहेछ । हामीले पहिलेकै ठाउँमा राखेर फर्किएका छौ श्रेष्ठले भने ।

नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दल धरानले पनि प्रतिष्ठानको उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई भेटेर तस्बिर हटाइएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको बताउँदै भविष्यमा यस्तो घटना नदोहोर्‍याउन चेतावनी दिएको बताइएको छ ।

उपकुलपतिले भने आफूले हटाएको नभएर सफा गर्दा तलमाथि परेको बताएका थिए । नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री कोइरालाको नाममा धरानमा प्रतिष्ठान स्थापना भएको हो । तर, कोइरालाकै तस्बिर हटाएर अपहेलित गरिएको पाइएकोले यस्तो पूर्वाग्रही भविष्यमा नदोहोर्‍याउन चेतावनी दिइएको श्रेष्ठले बताए ।