सुनसरी : सुनसरीको इनरुवा नगरपालिका-२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परिणाममा गाँजा तस्करी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट बुधवार बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमान्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो ।
ब्यारिकेटलाई क्षति गरी फरार भएको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले बलाहा नहरबाट बिहान पौने ४ बजे नियन्त्रणमा लिएको हो ।
ब्यारिकेट लडाएर भागेको उक्त गाडीलाई नियन्त्रण लिन १ राउन्ड फायर समेत भएको थियो भने उक्त गाडीले भाग्ने क्रममा को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्याएको तथा १ जना प्रहरी समेत घाइते भएका छन् ।
कोशीपुलबाट भागेको उक्त गाडीलाई बलाहा नहरबाट राती नै नियन्त्रणमा लिएको हो । गाडीसँगै चालक भोजपुर हतुवागडी गाउँपालिक-९ का २७ वर्षीय अर्जुन खड्का र गाडीमा सवार रहेका धरान-१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठलाई पक्राउ गरिएको छ भने गाडीमा रहेको २५० के.जी गाँजा, नगद १ लाख ५४ हजार र १ थान खुकुरी समेत बरामद भएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।