धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ को एक नाली छेउमा बेवारिसे अवस्थामा एक सालनाल सहितकी भेटिएकी नवजात बालिकालाई प्रहरीले एक अभिभावकलाई जिम्मा लगाएको छ।
गत वैशाख १२ गते कपडाले पोको पारेको अवस्थामा भेटिएको शिशुको प्राथमिक उपचार गरेर थप उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो।
शरीरमा केही नीलडाम भएकी शिशुलाई प्रतिष्ठानमा थप उपचार गरी प्रहरीलाई नै जिम्मा लगाएको प्रतिष्ठानका बाल रोग विभागका प्रमुख डा.प्रकाश पौडेलले जानकारी दिए।
बेवारिसे शिशु भेटिएको थाहा पाएपछि केही निःसन्तान जोडिहरू र एक सुनसरी कै सामाजिक संस्था आएको उनले बताए।
सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार शिशुको आमा बुवा हाल सम्म पत्ता नलागेकाले गैरयौनजन्य सम्बन्धबाट जन्मिएर कसैले फालेको हुनसक्ने बताए । थापाले भने 'हामीले अहिले पनि उनको आमालाई खोजिरहेका छौ । शिशुको भविष्यमा असहजता पुग्नसक्ने भएकाले त्यसैले बच्चा पाल्न लैजाने परिवारको गोपनीयता राख्नु पर्ने हुन्छ । नियम अनुसार नै विश्वासिलो व्यक्तिलाई पाल्न लैजाने अनुमति दिएका छौ।'
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार कानुनी प्रक्रिया पुरा गरी प्रहरीको रोहबरमा शिशुलाई लालन पालन गर्ने अभिभावकलाई जिम्मा लगाएको बताए। बीपीमा एक सरकारी गाडीमा आएर कसैले बच्चालाई जिम्मा लिएको बताइएको छ।
यस विषयमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले बच्चालाई उच्च शिक्षा दिने, आफ्नो सन्तान सरह लालन पालन गर्ने गरी एक जोडीले जिम्मा लिएको र धार्मिक परम्परा अनुसार शिशुको नाम 'पूर्णिमा' राखेको बताए।
पूर्ण निषेधाज्ञाका कारण अदालतमा हाल गम्भीर प्रकृतिका मात्र काम भएकाले हाल बच्चालाई जिम्मा लगाउने काम नभएको जिल्ला अदालत सुनसरीले जनाएको छ।
अदालतले बच्चा जिम्मा लगाए पछि मात्र बच्चा ग्रहण गर्नेको नाम, थर र ठेगाना सार्वजनिक गर्न मिल्ने अदालतले जनाएको छ।





































































