इटहरी : नेकपा एमाले इटहरी उपमहानगर कमिटीको अध्यक्षमा यामकुमार सुब्बा निर्विरोध चयन भएका छन्।

उपमहानगरको पहिलो अधिवेशनबाट अध्यक्षमा सुब्बा र उपाध्यक्षमा दुखीलाल चौधरी चयन भएका हुन् ।
मंगलबार उद्घाटन भएको अधिवेशनले दुई दिन पछि अध्यक्ष र उपाध्यक्षको टुङ्गो लगाएको छ ।

बाँकी पदाधिकारीमा शुक्रवार निर्वाचन हुने अध्यक्ष मण्डलका अध्यक्ष सर्वध्वज साँवाले बताए । उनका अनुसार बिहीबार मनोनयन दर्ता गराएका मध्येबाट १ सचिव २ सहसचिव सहित ८५ सदस्यको लागी निर्वाचन हुने भएको हो।

१ सचिवको लागी राजेन्द्र केसरी घिमिरे, मदन कार्की, रुपेश बस्नेत र होम घलेले उम्मेदवारी दिएका छन् । त्यसमध्ये बस्नेत बलिया उम्मेदवार मानिन्छन् । २ उप-सचिवको लागी होमनाथ धमला, जितेन्द्र थापा, राम नारायण चौधरी, तोया ढकाल, सज्नु प्रधान, मन्दिरा भट्टराई र शुकदेव राई लगायतले उम्मेदवारी दिएका छन् । बाँकी ८५ सदस्यको लागी १५४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य हरि कटवालले जानकारी दिए।

यसअघि ३ कार्यकाल इटहरी नगर अध्यक्ष चलाएका सुब्बाले चौथो कार्यकाल पार्टी नेतृत्वको मौका पाएका छन्।