धरान : जग्गा किनबेच गर्दा आउने कमिसनको लोभमा सिराहाको सिराहा नगरपालिका-२१ घर भई काठमाडौँ बल्खु बस्ने अनिलकुमार मण्डलले तीन जना सहकर्मीको हत्या गरेको  खुलेको छ । 

मोरङको धनपालथान गाउँपालिका-७ मा रहेको उखुबारीमा माघ १२ गते दुई जनाको शव फेला परेको थियो । बिहीबार ललितपुरमा पनि एक जनाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा मण्डलले जग्गा विक्रीको कमिसनको लोभमा तीन जनाको हत्या गरेको खुलेको हो । 

ताप्लेजुङको सक्रान्ति-२ घर भई काठमाडौँ बस्ने ६३ वर्षीय मोहन लिम्बू, धरान उपमहानगरपालिका-३ घर भई भक्तपुर बस्ने ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका-४ घर भई काठमाडौँ बस्ने ३२ वर्षीय शम्भुकुमार चौधरीको शव हत्यापछि खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो ।

तीन जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौँ बस्दै आएका अनिलकुमार मण्डल, मोरङ जहँदा गाउँपालिका– का २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका-७ का ६२ वर्षीय नासिर आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये मण्डल मुख्य योजनाकार हुन् । सुनार र आलम सहयोगी हुन् । हत्यामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । 

उनका अनुसार श्रेष्ठको शव भेटिएपछि प्रहरी अनुसन्धान साघुरिदै गएको थियो । लाइसेन्स भेटिएपछि श्रेष्ठको परिवारसम्म पुगेको प्रहरी श्रेष्ठले प्रयोग गर्ने मोबाइलको कल डिटेलका आधारमा अर्का मृतक शम्भु चौधरीको परिवारसम्म पुगेको थियो । 

शम्भुको पनि पहिचान खुलेपछि मोहन लिम्बू र अनिलकुमार मण्डलसम्म पुगेको थियो । दुई जनालाई खोज्दै काठमाडौँ पुगेको प्रहरीले सुरुमा मण्डललाई पक्राउ गरेको थियो । मण्डलको सूचनाका आधारमा प्रहरी लिम्बूको शव गाडिएको स्थानसम्म पुगेको थियो ।

‘लाइसेन्स भेटिएपछि अनुसन्धान गर्न सहज भयो,’ जिसी भन्छन्,‘ यदि पहिचान खुल्ने कागजात नभेटेको भए अनुसन्धान लम्बिन सक्थ्यो ।’ तीन जनाको हत्यामा आठ जना भन्दा बढी संलग्न रहे पनि अन्यको खोजी जारी रहेको प्रहरीले बताएको छ । 

कसरी भयो हत्या  ?

प्रहरीका अनुसार एक जग्गा कारोबारीले बैङ्कले लिलामको प्रक्रियामा पुर्‍याएको जग्गा उकास्नका लागि अनिललाई जिम्मेवारी दिए । घर जग्गाको कारोबार गर्दै आएका उनले आफैले नसक्ने भएपछि राजेन्द्रलाई जोडेका थिए । राजेन्द्रले पनि साझेदारको रूपमा मोहनलाई जोडे । बैङ्कसँग कारोबार मिलाउनका लागि मोहनले शम्भुलाई टिममा जोडे । यसरी चार जनाको टिम तयार भयो । तर काम बन्ने भएपछि मोहनले अनिललाई क्रस गर्न खोजे ।

डेढ करोड भन्दा बढी कमिसन आउने कारोबारमा आफूलाई निकाल्न खोजेपछि असन्तुष्ट बनेका अनिलले मङ्सिर २८ गते लिम्बूको हत्या गरे । लिम्बूको हत्यापछि उनी राजेन्द्र र शम्भुसँग विराटनगर आए । मोहन पनि आउने  भनेका थिए । तर उनको मोबाइल अफ भएपछि तीन जना मात्रै आएको र उनीहरू विराटनगरको होटल मेट्रोसिटीमा बसे । 

‘जग्गा उकासिदिए बापत उनीहरूले डेढ करोड जति कमिसन पाउदैथिए । कमिसन डिलका लागि काठमाडौँबाट आएका मान्छे होटल रत्नामा बसेको देखिन्छ,’ प्रहरी स्रोत भन्छ,‘ सबै रकम हत्याउन अनिलले योजनाबद्ध रूपमा हत्या गरेको देखिन्छ ।’ 

विराटनगर र काठमाडौँमा भएको हत्यामा आठ जना भन्दा बढी संलग्न रहेको प्रहरी स्रोत बताउँछ । ‘घटनामा अनिलले अमित र अमितले नासिरलाई जोडेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,‘ अमितले तीन लाख जति पैसा लिएका छन्, बाँकी रकम कमिसन पाएपछि दिने कुरा भएको रहेछ ।’

प्रहरीले कहाँको जग्गा कारोबार भन्ने विषय खुलाएको छैन । तर बैङ्कले लिलामी गरेको जग्गा उकास्नका लागि एक व्यक्ती अनिलसँग जोडिएपछि चार जनाको टिम बनेको थियो । उनीहरूबिच पुरानै चिनजान रहेको प्रहरीले बताएको छ ।

‘कमिसन दिने मान्छेको सम्पर्क अनिलसँग थियो, पछि राजेन्द्र हुँदै चार जना जोडिए,’ प्रहरी स्रोत भन्छ,‘ तर मोहनले अनिललाई बाइपास गर्न खोजेपछि सुरुमा उनको हत्या भयो ।’ 

डोरी र गाम्छा प्रयोग गरेर हत्यापछि खन्ती र कोदालोले खाल्डो खनेर गाडेको पाइएको प्रहरी उपरीक्षक जिसीले बताए । तीनै जनालाई पुरेको खाल्डोमा नुन प्रयोग भएको देखिएको उनले बताए । 

जिसीका अनुसार धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको पुस ५ गते र सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौँमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरीको पुस ७ गते हत्या भएको थियो । 

काठमाडौँमा लिम्बूको हत्यापछि आएका अनिलले साथीको खोजी सुरु भएपछि सहयोगी खोजेर पालैपालो हत्या गरेका थिए ।

‘काठमाडौँमा लिम्बूलाई मारेको जानकारी विराटनगरमा रहेका श्रेष्ठ र चौधरीलाई थाहा थिएन । उनीहरू लिम्बूको प्रतीक्षामा थिए,’ प्रहरी उपरीक्षक  जिसी भन्छन्,‘ विराटनगरबाट श्रेष्ठलाई पुस ५ गते राति लगेर मारेको घटना शम्भुले थाहा पाएका थिएनन् ।’ दुई जनाको हत्या रातको साढे ८–९ बजेको बिचमा भएको  उनले बताए । होटलबाट अनिलले लिएर गएपछि घटनास्थलमा लुकेर बसेकाहरूले डोरी र गाम्छाले घाटी थिचेको देखिएको प्रहरीले बताएको छ ।