विराटनगर : प्रदेश नम्बर १ मा सिंघीया, केसलिया करिडोर र मीरगंज पुल समस्या समाधानको लागि भारतको विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीबिच छलफल भएको छ । 

नेपाल भ्रमणमा रहेका विहारका उपमुख्यमन्त्री प्रसाद र आन्तरिक मामिला तथा कानुन मन्त्रीबिच भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघिया र केशलियको विहार सम्मको क्षेत्रमा तटबन्ध हितको करिडोर निर्माणको विषयमा छलफल भएको हो । 

त्यस अवसरमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मीरगंज पुलमा भएको क्षतिका कारण यस क्षेत्रका उद्योगी व्यवसायीले ठुलो अप्ठ्यारो बेहोर्नु परेको बताए । मन्त्री कार्कीले भने,“हरेक वर्ष पुल भास्सिने र ठुला मालवाहक सवारी साधन आउजाउ गर्न नसक्दा व्यवसायीले ठुलो परिमाणमा विलम्ब शुल्क बुझाउनु पर्ने बाध्यता छ । समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब सञ्चालन गरिनु पर्दछ ।” मन्त्री कार्कीले नेपाल र भारतका नागरिकबिच सदियौँदेखि भाइचारा सम्बन्ध रहेको र नदीजन्य विपत्तिका कारण दुबैतर्फ उत्तिकै कठिनाइ हुने गरेको बताए । 

मन्त्री कार्कीले प्रदेश १ को राजधानी विराटनगर भएर विहार तर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले विहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्ध सहितको करिडोर निर्माण गर्नुपर्नेमा जोड दिए । “सिमापार अपराध र लागूऔषधले उत्पन्न समस्याको विषयमा समेत दुवैतर्फका राज्य सरकार मिलेर काम गर्नुपर्ने मन्त्री कार्कीले बताए । 

त्यस अवसरमा विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादले प्रदेश नम्बर एक सरकारसँग मिलेर आफूहरूले धेरै काम गर्न सक्ने र दुवैतिरका नागरिकको हितमा यो अपरिहार्य भएको बताए । उठेका विषयलाई थप औपचारिक रूपमा दुई सरकार बिच छलफलमा लग्न मन्त्री कार्कीलाई पटना भ्रमणमा आउन निमन्त्रणा गर्दै उपमुख्यमन्त्री प्रसादले भने,“प्रदेश एकको मात्र नभएर हाम्रो सम्बन्ध सम्पूर्ण नेपाली नागरिकसँग उत्तिकै छ । यो क्षेत्रको विकासमा विहार सरकारले मद्दत गर्ने विषयमा हामी सरकार स्तरमा थप छलफल गर्नेछौ ।” उनले मीरगंज पुलबाट सिर्जित समस्याको विषयमा आफूले जानकार रहेको भन्दै यसको समाधानका लागि पहल लिने बताए ।