विराटनगर : नेकपा एमाले निकट अनेरास्ववियु महानगर कमिटीले शनिवार साँझ विराटनगरमा मसाल जुलुस निकालेको छ । 

विराटनगरमा निकालिएको मसाल जुलुस सहित विद्यार्थीले नगरका विभिन्न भागमा प्रदर्शन गरेका थिए । मसाल जुलुस ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । 

स्थानीय तहको निर्वाचन नगर्ने सत्ता गठबन्धन सरकारको चलखेल विरुद्ध अनेरास्ववियुले विराटनगरमा मसाल जुलुस सहित प्रदर्शन गरेको हो । 

अनेरास्ववियुले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणाको माग गर्दै निरन्तर रूपमा दबाब मूलक कार्यक्रम गर्दै आएको उपमहासचिव भास्कर खनालले बताए । 

उनले आन्दोलन निरन्तर रूपमा जारी रहने बताए । उनले गठबन्धन सरकारका नकारात्मक कामको निरन्तर विरोध गरिने बताए । अनेरास्ववियुले प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्ने निर्णय, मूल्यवृद्धि, सरकारी असंवैधानिक अभिव्यक्तिको विरोध गर्दै आएको छ ।

शनिवार साँझ निकालिएको मसाल जुलुसमा करिब ३ सय युवा, विद्यार्थीको सहभागिता रहेको थियो । कोणसभालाई अनेरास्ववियु उपमहासचिव भास्कर खनाल, युवा सङ्घ नेपालका कोषाध्यक्ष मुकेश बुढाथोकी लगायतका विद्यार्थी नेताहरूले संशोधन गरेका थिए । 

अनेरास्ववियुले यस अघि विराटनगरमा सडक बहस, सडक पत्रकार सम्मेलन, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झन्डा देखाउने लगायतका कार्यक्रम गर्दै आएको छ ।