धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना महामारी अझै कायमै रहेको भन्दै फेरि १८ बुँदे नयाँ आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिएमसीको बैठकले भिडभाड हुने आमसभा, जुलुस, मेला, सम्मेलन, जात्रा लगायतका भिडभाड हुने कार्यहरूमा लगेको प्रतिबन्धलाई निरन्तरता दिएको छ । 

पहिलेको तुलनामा केही कम कोरोना सङ्क्रमण भइरहेको भन्दै कलेज र विद्यालय भने फागुन १ गतेदेखि खोल्न पाइने आदेशमा उल्लेख छ । १२ वर्ष पुरा भएका विद्यार्थीहरूको हकमा नियमित कक्षा सञ्चालन हुनेछ भने १२ वर्ष नपुगेका विद्यार्थीहरूको हकमा स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापन समितिले आलोपालो वा सिफ्ट प्रणालीको व्यवस्थापन गर्नुपर्ने आदेशमा उल्लेख छ ।

सपिङ मलहरूमा एक पटकमा ५० जना भन्दा बढी भिड नहुने आदेशमा उल्लेख छ भने पूर्ण खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने भनिएको छ । पार्टी प्यालेसमा एक पटकमा जना क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका १०० जना भन्दा नबढ्ने गरी उपस्थित हुन पाउने आदेशमा उल्लेख छ । 

होटल, रेष्टुरेष्ट र क्यासिनो मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ भने फागुन १ गतेदेखि खेलकुद कार्यक्रम गर्दा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरी पुर्णखोप लगाएका दर्शक उपस्थित गराउन सकिने भएको छ ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटक ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने आदेशमा उल्लेख छ । 

बैठकमा यस भन्दा अघि जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश सन्तोषजनक पालना भएको पनि उल्लेख छ ।

Adesh-1Adesh-2Adesh-3