धरान : स्थानीय तहको चुनाव निश्चित प्रायः भएसँगै धरानमा नेपाली काँग्रेस चुनावी माहौल बनाउन क्रियाशील भएको छ । काँग्रेसले वडाहरूमा टोल भेला आयोजना गरी टोल कमिटी गठन गर्दै चुनाव केन्द्रित गतिविधिमा अगाडि बढेको देखिएको छ।

काँग्रेस नगर सभापति श्याम पोखरेलले भने संशोधित विधानमा पहिलो पटक टोल कमिटीको व्यवस्था गरेकोले टोल कमिटीहरू गठन अभियान सुरु गरिएको हो। वडा ८ मा सोमवार आयोजित भेलामा उनले भने ‘यो चुनावी टोल समिति होइन १४ औँ महाधिवेशनपछि पार्टीको विधान अनुसार टोल समिति गठन गरिएको हो ।’

पोखरेलले नगर कार्यसमितिको पहिलो बैठक र वडा सभापतिहरूको संयुक्त बैठकबाट फागुन मसान्तभित्रमा सबै वार्डको सबै टोलमा टोल समिति गठन गर्ने निर्णय गरिएको बताए । सोही अनुसार वार्डहरूमा टोल समिति गठन भइरहेको उनको भनाई थियो।

भेलाका प्रमुख अतिथि काँग्रेस सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङले धरानको विकासको लागि धरानवासीले काँग्रेसको आवश्यकता जरुरी भएको ठहर गरेको कारण नै उपचुनावमा काँग्रेस विजयी भएको बताउँदै भने ‘काँग्रेसलाई अब पुरा कार्यकाल काम गर्न दिने मनस्थितिमा धरानबासी रहेका छन् ।’

टोल कमिटीको विस्तारका कार्यक्रम सँगै पार्टीमा नयाँ सदस्य बढाउने अभियानमा काँग्रेस नगर समिति लागेको छ । सोमवार भएको वडा-८ टोल भेला कार्यक्रमका बिच उक्त वडामा विभिन्न पार्टीमा रहका १४ जना काँग्रेसलाई प्रवेश गराइएको छ । काँग्रेस प्रवेश गर्नेहरूमा राजकुमारी गजमेर, देविका राई, सुनिता श्रेष्ठ, रविन तामाङ, स्नेह गुरुङ, समिप खड्का, प्रशान्त राई, राजीव तामाङ, बिजु भुजेल, आशिष् खान, सहनबाज खान, अनिष लिम्बु, अस्मित मगर, रेस्मा घिमिरे, देवीका राई रहेका छन्।

भेलामा काँग्रेस महाधिवेशन प्रतिनिधि रहेका मेयर तिलक राई धरानको खानेपानीको प्राविधिक समस्या चाँडै समाधान हुने बताए । खानेपानी समस्यामा प्राविधिक कारण देखिएकोले समाधान गर्न रातविरात खटिरहेको बताउँदै उनले खानेपानीको पाईपलाईनमा लिकेज भएकोलाई वेल्डिङ गरेर टाल्ने कामहरू पनि निरन्तर रूपमा भइरहेको बताए। मेयर राईले भने ‘खानेपानी संस्थान र ठेकेदार मात्र हुँदा खेरी महिनौँ लाग्थ्यो अहिले हाम्रो कर्मचारीहरूले रातको समयमा पनि काम गरिरहेको छ।’

congress-wada-sangathan-2078-10-19