धरान : प्रदेश नम्बर १ को नाम 'लिम्बुवान-किरात' हुनुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाइएको छ ।

लिम्बुवान ,किरात सङ्घर्ष समितिको ३० घटक सङ्गठनको संयुक्त हस्ताक्षर सहित हिजो मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको छ। मुख्यमन्त्री राईको कार्यकक्ष प्रदेश १ विराटनगरमा नामकरण लिम्बुवान-किरात हुनुपर्ने कारण सहित ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा नेपालको संविधान २०७२ अनुरूप पहिचानमा आधारित पछिल्लो मधेस प्रदेश नामंकन भएसँगै बाँकी रहेको प्रदेश १ नम्बरको नामाङ्कन गर्ने सन्दर्भमा राजनीतिक सामाजिक सांस्कृतिक संघसंस्थाहरुको ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौ ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा पहिचानको आधारमा प्रदेशहरूको निर्माण गर्न संविधान सभाको विषयगत समिति राज्यपुनर्संरचा उच्चस्तरीय समितिबाट सिफारिस भए बमोजिमको प्रदेशहरूको नाम सुनिश्चित हुनुपर्ने थियो भन्दै सोको मर्म विपरीत ७ प्रदेशको घोषणा गरिएको उल्लेख छ ।

ज्ञापन पत्रमा २०६२÷६३ को जन आन्दोलन,लिम्बुवान आन्दोलन, किरात आन्दोलन, मधेस आन्दोलन,आदिवासी जनजातिको आन्दोलनको जनादेश अनुसार ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानको आधारमा “लिम्बुवान,किरात “ प्रदेश नामाङ्कनको लागि हाम्रो आन्दोलन जारी रहेको अवगत गराउँदछौ भनिएको छ ।

त्यसै गरी संविधान अनुसार स्वायत्त,संरक्षित,विशेष स्वायत्त क्षेत्रको नामंकन र घोषणा अविलम्ब गर्नुपर्छ भन्नेमा हामी दृढ प्रतिज्ञा गर्दछौ ज्ञापन पत्रमा उल्लेख छ । जसमा संखुवाखोला-अरुण कोशी पूर्वको लिम्बुवान स्वायत्त प्रदेशको भूगोलमा शेर्पा-भोटे-शिङ्सा स्वायत्त क्षेत्र,मेवाहाङ-लोहरुङ स्वायत्त क्षेत्र, याम्फु स्वायत्त क्षेत्र, याक्खा स्वायत्त क्षेत्र, आठपहरिया स्वायत्त क्षेत्र, सोह्र खाल्सा राई स्वायत्त क्षेत्र, राजधामी स्वायत्त क्षेत्र, थारु स्वायत्त क्षेत्र, मुस्लिम स्वायत्त क्षेत्र, धिमाल स्वायत्त क्षेत्र, खवास स्वायत्त क्षेत्र, सन्थाल स्वायत्त क्षेत्र, कोचिला स्वायत्त क्षेत्र, मेचे स्वायत्त क्षेत्र, लेप्चा स्वायत्त क्षेत्र हुनुपर्ने घोषणा गर्नुपर्ने माग गरिएको छ।

त्यसै गरी किरात-खम्बुवान् भूगोलमा पनि यस्तै स्वायत्त संरक्षित तथा विशेष स्वायत्त क्षेत्र निर्माण तथा घोषणा हुनुपर्ने उल्लेख छ । ज्ञापन पत्रमा तराईको भूगोलमा कोच-मधेस र हिमाली भूभागमा शेर्पालुङको दाबी रहेता पनि लिम्बुवान,किरातले दाबी गरेका पूर्ण भूगोल रहेकोले हाललाई लिम्बुवान,किरात प्रदेश नै उपयुक्त नामंकन भएको ठहर रहेको उल्लेख गरेको छ ।

Gyapanpatra1Gyapanpatra-2