धरान : सत्ता गठबन्धन दलले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनबारे छलफल गरेको छ ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बैठक बसी छलफल गरेको हो । बैठकले हाल सरकारले गरेको निर्णय समीक्षा गर्नु पर्ने सम्बन्धमा छलफल गरेको छ ।
बहालवाला पदाधिकारीहरूलाई यथावत् राखेर बीपी प्रतिष्ठानको काम गर्ने गरी कर्मचारी तोकेको विषय अदालतमा विचाराधीन रहिरहेको अवस्थामा पछिल्लो पटक मन्त्री स्तरीय निर्णय गरी पुनः उनै कर्मचारीलाई थप अधिकार प्रत्यायोजन गरिनु वैधानिक र व्यवहारिक हुन नसक्ने बैठकले शङ्का गरेको छ ।
सरकारले सञ्चालक परिषद्को बैठकमा जोड दिई विद्यमान कानुनी व्यवस्थालाई टेकेर सञ्चालक परिषद् वा अन्य संवैधानिक बाटो अपनाई प्रतिष्ठानको समस्या तत्काल हल गर्न राजनीतिक दलको तहबाट पनि पहल गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने बारेमा पनि छलफल भएको छ । छलफलमा नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न प्राविधिक मात्र नभई व्यवहारिक रूपले पनि कठिनाइ हुने भन्दै तालमेल गर्न उपयुक्त नहुने तर्क गरेका छन् भने अन्य दलले कार्यकर्ता र मतदातामा एक खाले मनोविज्ञान पैदा हुने भन्दै लामो समय अन्यौलतामा नबसी तालमेल गर्ने नगर्ने सम्बन्धमा समयमै निर्णय हुनुपर्ने विचार राखेका छन् ।
बैठकमा नेपाली काँग्रेसका १ नं. प्रदेश महामन्त्री उमेश थापा, सुनसरी जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(१) र १(२) का सभापतिद्धय अनिल श्रेष्ठ र मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, क्षेत्रीय सचिव केशव पुरी र क्षेत्रीय सहसचिव सुमित राईको उपस्थिति रहेको थियो ।
त्यसै गरी नेकपा माओवादी केन्द्रका १ नं. प्रदेश सदस्य अवइन्द्रविक्रम वेघा, धरान नगरका वरिष्ठ सदस्य चोत्लुङ, पूर्व जिल्ला सदस्य अशोक राईको उपस्थिति रहेको थियो ।
त्यसै गरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीम राई र धरान नगर सभापति ताजुब लिम्बुको उपस्थिति रहेको थियो ।