धरान : धरान वडा-१७ सर्दु खोला किनारमा नयाँ बनेका सुकुम्वासीहरूका घर टहरा उठाउने जिल्ला प्रशासन सहित सुरक्षा निकाय, राजनैतिक दलहरूको निर्णयप्रति नेपाली काँग्रेसका कार्यकर्ताहरूले आपत्ति जनाएका छन्। उनीहरूले उपमहानगरपालिकामा काँग्रेसको भएकोले चुनावको मुखमा सुकुम्वासीलाई भड्काउन कम्युनिष्टहरुले सुनियोजित चाल चलेको भन्दै आपत्ति जनाएका हुन् । काँग्रेस उपमहानगर समितिको सोमवार बसेको पूर्ण बैठकमा नगर सदस्यहरूले उक्त निर्णयको पार्टीले प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।
बैठकको सभापतित्व गरेका पार्टी सभापति श्याम पोखरेलले छलफलमा उठेका विषय विचारणीय रहेको बताउँदै सुकुम्वासीका सवालमा उपमहानगरपालिका मेयर तिलक राई सहित बैठक बसेर उचित निर्णय गरिने बताए । उनले अहिले भइरहेको भूमिहीन अव्यवस्थित बसोबासलाई जग्गा दिने कामका बारेमा जानकारी समेत लिएर त्यसलाई सार्वजनिक गरिने बताए । सभापति पोखरेलले भने ‘सधैँ नै चुनावका बेला सुकुम्वासीका कुरा चर्को रूपमा उठाइने गरिन्छ तर त्यसको दीर्घकालीन समाधान अहिले सम्म भएको छैन, अब काँग्रेसले त्यसको समाधान गर्ने कुरामा गम्भीर हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा आइतबार सुरक्षा निकाय सहितको सर्वपक्षीय बैठकले खोलाको बगर, सार्वजनिक जग्गा अतिक्रमण गरी २०७२ सालयता बसेका बस्तीलाई क्रमबद्ध रूपमा हटाउने निर्णय गरेको हो । बस्ती हटाउने कार्य वडा-१७ बाट गरिने भएको हो । त्यहाँको देवी थान, कालापानी लगायत खोलाहरूको किनारा, बहाव क्षेत्रमा रातारात घर टहरा बनिरहेकोले बताइएको छ । मेयर तिलक राईले अध्यक्षता गरेको बैठकमा उपमेयर मञ्जु भण्डारी सहित दलका स्थानीय नेताहरू सहभागी थिए ।
बैठकमा काँग्रेसका कार्यसमिति सदस्य तथा अव्यवस्थित बसोबास समन्वय समितिका सह-संयोजक आइतबहादुर लिम्बुले भने ‘नगरपालिकामा काँग्रेसको मेयर भएको बेला चुनावको मुखमा सुकुम्वासी हटाउने निर्णय गर्नुमा कम्युनिष्टहरुको काँग्रेसको विरोधमा सुकुम्वासी उचाल्ने चाल हो ।’ पार्टीले यो निर्णयको विरोधमा विरोध गर्नुपर्नेमा जोड दिदैं उनले भने ‘यो खेलमा वडा-१७ का अध्यक्ष मनोज भट्टराईको हात छ ।’ सुकुम्वासी उठाउनेमा काँग्रेसको मेयरलाई देखाएर चुनावमा उनीहरूलाई आफ्नो पक्षमा ल्याउने यस्तो खेल खेलिएको उनको भनाई थियो ।
काँग्रेसका पूर्व सभापति किशोर राईले कोरोना महामारीले रोजगारीबाट समेत बञ्जित, पीडित सुकुम्बासीहरुलाई उनीहरूले दुःखले बनाएका घर भत्काएर थप अन्याय गर्न नहुने बताउँदै भने ‘त्यहाँबाट उनीहरूलाई हटाउन अघि वैकल्पिक बसोबासको व्यवस्था गरिनु पर्दछ ।’ उनीहरूलाई विकल्पको व्यवस्था गर्न वास्तविक भूमिहीन सुकुम्वासी पहिचान गरिनु पर्नेमा जोड दिदैं पार्टीको उपमहानगर समिति यसबारेमा गम्भीर हुन ध्यानाकर्षण गराए ।
पूर्व सभापति राईले उपमहानगरपालिका राजनैतिक संयन्त्रले सञ्चालन गरेकै बेला २०७२ सालमा आफ्नो संयोजकत्वमा गठित अव्यवस्थित बसोबास तथा भूमिहीन सुकुम्वासी व्यवस्थापन समितिले धरानका सुकुम्वासीहरूको पहिचान गरी लगत सङ्कलन गरिसकेको बताउँदै भने ‘त्यसै बेला अब धरानमा सुकुम्वासीको नाममा अनधिकृत अतिक्रमण गर्न पाउने छैन भनिएको थियो।’ तर, कोरोना महामारीले पीडितहरूलाई आश्रय स्थलबाट विना विकल्प विस्थापित गर्ने निर्णय अमानवीय भएको बताए ।
तरुण दलका संयोजक नरसिंह राईले वडा-१७ का सुकुम्वासी घर टहरा हटाउने नाममा त्यहाँ पहिले देखी बसोबास गरिरहेकाहरूलाई समेत हटाउन खोजिएको आशङ्का जनाउँदै ‘गरिबहरूले छाक टारेर आश्रयको लागि बनाएको घर हठात् भत्काउने निर्णयको कडा विरोध गरिनु पर्दछ ।’ काँग्रेसका सल्लाहकार प्रा.डा. गोपालप्रसाद भण्डारीले सुकुम्वासीलाई कम्युनिष्टहरुले भोट बैङ्कको रूपमा मात्र प्रयोग गर्दै आएकाले धरानमा यसको ठोस समाधान नभएको बताउँदै भने ‘काँग्रेसले सुकुम्वासीलाई हटाउने होइन विकल्प दिएर ठोस समाधान गर्न गम्भीर हुनुपर्ने बेला आएको छ ।’