धरान :धरान उपमहानगरपालिकाका मेयर तिलक राईले शिङ्साबा समुदायको महान् चाड २१४९ छ्यु–फो–ताक लो (जल–पुरुष – बाघ वर्ष) ज्यालो ल्होसार र शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

मेयर राईले शिङ्साबा समुदाय र शेर्पा समुदायको धरानमा पनि बसोबास रहेको जनाउँदै नगरवासीहरूमा शुभकामना व्यक्त गरेका हुन् । मेयर राईद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘धरान उपमहानगरपालिका विभिन्न जातजाति, भाषा भाषी, धर्मावलम्वीहरुको बसोबास रहेको सुन्दर नगरी हो ।

धरानमा बसोबास गर्ने बहुल जाती, बहुल धर्मावलम्वीहरुको आ–आफ्नो संस्कार, संस्कृति र मौलिक पर्वहरू छन् । यही सन्दर्भमा धरानमा पनि बसोबास रहेको शिङ्साबा समुदायको महान् चाड २१४९ छ्यु–फो–ताक लो (जल–पुरुष – बाघ वर्ष) ज्यालो ल्होसार र शेर्पा समुदायको ग्याल्पो ल्होसारको (फागुन १९ गते मनाइने) अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नगरवासी दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रूपमा समेत रहेको मेयर राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्त्वपूर्ण मानिन्छ । ज्यालो र ग्याल्पो ल्होसार पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु’ शुभकामना सन्देशमा उल्लेख छ ।

यस्ता चाड पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडि बढ्न समेत नगर प्रमुख राईले आग्रह गरेका छन् । 

Gyalpo-losar-subhakamana