धरान : ग्रामीण क्षेत्रका महिलाहरूको सशक्तीकरणका लागि राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ सुनसरीद्वारा वराहक्षेत्र वडा ७ मा मङ्गलवार देखी प्रभावकारी उद्घोषण कला प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षण चार दिन सम्म सञ्चालन हुनेछ । लोकतन्त्रमा महिलाहरूको सशक्त भूमिकाका लागि उनीहरूलाई सरोकारका विषयमा आफ्नो अभिमत प्रकट गर्न सक्षम बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो ।
वडा ७ स्थित नेवाः भवनमा आयोजित एक समारोहका बिच प्रमुख अतिथि वडा अध्यक्ष जीतबहादुर लिम्बुले प्रशिक्षणको उद्घाटन गरेका हुन । उनले मुलुकमा महिलाको जनसङ्ख्या पुरुष भन्दा बढी भए पनि स्थानीय विकास र सवालहरूमा महिलाको निर्णायक भूमिका नभइरहेको अवस्थामा उनीहरूलाई सशक्त भूमिकामा अघि ल्याउन तालिम आयोजना गरिएको बताए । तालिम वडा कार्यालयको सहयोगमा सञ्चालन गरिएको हो ।
वडा सदस्य परशुराम आचार्यले समृद्ध समाज बनाउन सदभाव, सहभागिता आवश्यक हुन्छ र त्यसका लागि महिलाको भूमिका महत्त्वपूर्ण हुने भएकोले उनीहरूको सशक्तीकरण आवश्यक रहेको बताए । दलित महिला वडा सदस्य शुष्मा दर्नालले महिलाहरूको समान अधिकारको जनचेतना बढाउन समुदायलाई जागरुक गर्नका लागि महिलाहरूलाई यस्ता तालिमहरूले महत्त्वपूर्ण भूमिका खोल्ने बताइन् ।
कार्यक्रमको सभापतित्व गरेकी राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घकी सुनसरी जिल्ला अध्यक्ष सङ्गीता सुब्बाले वडा, गाउँको विकास कार्य, जनचेतनामा महिलाको अगुवाइले फरक प्रभावकारिता देखिने भएकाले त्यस्तो भूमिकाका लागि महिलाहरूलाई सार्वजनिक विषयमा बोल्न आफ्नो अभिमत प्रकट गर्न तालिमले सशक्त बनाउने विश्वास व्यक्त गरिन् ।
तालिममा प्रशिक्षक दोर्पध्वज राईले सहभागीहरूलाई सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने संसदीय अभ्यास, विभिन्न विषयमा महिलाहरूले अभिमत जनाउन बोल्ने प्रद्धती लगायत विषयमा अभ्यास गराउने छन् । वडा कार्यालयको महिला विकासको बजेटको सहयोगमा आयोजित प्रशिक्षणमा वराहक्षेत्रका २८ महिलाहरू सहभागी रहेको महिला महासङ्घले जनाएको छ । उद्घाटन कार्यक्रम सञ्चालन महासङ्घकी सदस्य चुन्नु थापाले गरेकी थिइन् ।








































































