इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाले छाडा कुकुर नियन्त्रणको अभियान चलाएको छ । स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाएर छाडा कुकुरको सङ्ख्या नियन्त्रणको प्रयास अगाडी बढाएको हो । 
शुक्रवार बाट छाडा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउने र बन्ध्याकरण गर्ने कार्यक्रम सुरुवात गरिएको छ । छाडा  कुकुरले घरपालुवा जन्तु खाने दुर्घटनाको जोखिम बढाउने भएको कारण उपमहानगरले नियन्त्रण अभियान चलाएको हो । 
पहिला कुकुर मारेर समस्या समाधान गर्ने चलन भए पनि पछि पर्यावरणमा असर पुग्ने भएकाले बन्ध्याकरणलाई उपयुक्त विकल्पको रूपमा अगाडी बढाइएको उपमहानगरपालिकाका पशु चिकित्सक दुर्गा श्रेष्ठले बताए। 
भाले र पोथी दुवैलाई बन्ध्याकरण गरी छाडिएकाले थप सन्तान वृद्धि रोकिने उनको भनाई छ । रेबिज विरुद्धको खोपले थप जोखिम नियन्त्रण हुने उनले सुनाए । उनका अनुसार सुरुमा एकै ठाउँका कुकुर नियन्त्रणमा लिइने र उपचार पछि सम्बन्धित ठाउँमै लगेर छाडिने गरिएको छ । ३ दिनसम्म चल्ने कार्यक्रममा २ सय बढी कुकुरको उपचार गरिने उनले बताए । 
नियन्त्रणका लिइएका कुकुरलाई बन्ध्याकरण र खोपको अलवा बाँकी रोगको समेत उपचार गरिने भएको छ । बन्ध्याकरण गरेका कुकुरको कानको टुप्पो काटेर छाड्ने गरिएकाले आगामी वर्ष थप उपचारमा सहज हुने उनले बताए । 
itahari-kukur-123