सुनसरी : दोस्रो इटहरी आमन्त्रण गोल्डकप भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ। इटहरी स्थित जनता क्याम्पसको खेल मैदानमा आज (मंगलबार) सम्पन्न फाइनल भिडन्तमा आयोजक हाम्रो इटहरी भेट्रान फुटबल क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै धरान भेट्रान फुटबल क्लबले उपाधि जितेको हो ।
विजेता धरानले नगद १ लाख रुपैयाँ हात पार्दा उपविजेता इटहरीले ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो ।
धरानको जितमा सागर थापाले ह्याट्रिक गरे । थापाले खेलको छैठौ, नवौँ र ५० औ मिनेट लगातार गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । म्याच फिक्सिंगको आरोपबाट सफाइ पाएका राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका थापाले प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको उपाधि पनि जित्दै नगद ३ हजार ५ सय रुपैयाँ पाए । धरानका लागि जुमानु राईले थप १ गोल गरे । नेपाल पुलिस क्लबका पूर्व कप्तान समेत रहेका राईले खेलको ५१ औ मिनेटमा गोल गरेका थिए । उनी फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार १ सय रुपैयाँ हात पार्न सफल भए ।
इटहरी भेट्रानका लागि लीलाराम मगर र चुनबहादुर थापाले एक-एक गोल गरे पनि टिमका लागि हार टार्न सकेनन् । मगरले खेलको ३२ औँ मिनेटमा गोल गरेका थिए । इटहरी भेट्रानका सुरेन्द्र तामाङले प्रहार गरेको पेनाल्टी गोलकिपर रूपक गुरुङबाट रिबाउण्ड हुँदा मगरले सहजै गोल गरेका थिए । अर्को गोल नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब टिम मेनेजर समेत रहेका थापाले खेलको ६३ औँ मिनेटमा गरेका हुन । 
प्रतियोगिताको उत्कृष्ट खेलाडी हाम्रो इटहरी भेट्रान फुटबल क्लबका नवीन न्यौपाने घोषित भए । त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक समेत रहेका न्यौपानेले नगद ५ हजार पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट फरवार्ड इटहरीका सुरेन्द्र तामाङ, मिडफिल्डर निर्मल तामाङ घोषित भए । उत्कृष्ट गोलकिपर धरानका रूपक गुरुङ, डिफेन्स सुमन केसी र प्रशिक्षक धरानकै इन्दु रसाइली घोषित भए । उनीहरू सबैले जनही ३ हजार ५ सय नगद पुरस्कार पाए । फागुन २४ गते देखी सुरु भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी र धनकुटाका ८ टिमले सहभागिता जनाएका थिए ।