इटहरी : प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवा पहिलो पटक सुन्दरहरैंचा आउने भएका छन् । नगरप्रमुख शिव प्रसाद ढकालको निमन्त्रणामा देउवा सुन्दरहरैंचा आउन लागेका हुन ।
नगर प्रमुख ढकालको सचिवालयका अनुसार नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैंचा-९ स्थित कृषि बजार परियोजना शिलान्यास कार्यक्रमको लागि उनलाई निमन्त्रणा गरिएको हो । सोही दिन हरैंचामा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सर्वप्रथम प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सहभागी हुने भएका छन् । त्यसपछि वडा नम्बर ९ स्थित कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको मेयर ढकालको सचिवालयले जानकारी दिएको छ । शिलान्यासपछि नेपालीरिका होटेलमा खानाको व्यवस्था मिलाइएको छ । खानाकै क्रममा स्थानीय कार्यकर्ता सँग भेटघाटको प्रबन्ध मिलाउने तयारी भएको सचिवालयले जानकारी दिएको छ । त्यसपछि वडा नम्बर १ को सुन्दरहरैंचा नगर अस्पताल उद्घाटन गरी सिधै काठमाडौँ प्रस्थान हुने कार्यसूची रहेको छ। 
प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न फाल्गुन २७ गते मेयर ढकाल सहित नेपाली काँग्रेसका केन्द्रीय अमृत अर्याल, काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझी, नगर सभापति भक्ति सिटौलाको टोली बालुवाटार पुगेको थियो ।