इटहरी : लालपुर्जाको माग गर्दै इटहरीका सुकुम्वासीले आन्दोलन गरेका छन् । हरेक निर्वाचनमा लालपुर्जा दिने बाचा गरेर निर्वाचित भएका जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 

आन्दोलनरत सुकुम्वासीले ‘नो लालपुर्जा नो भोट’को नारा लगाउँदै इटहरी चोक परिक्रमा गरी उपमहानगरपालिका कार्यालय अगाडी कोणसभा गरेका छन् । नेताहरूले बारम्बार झुक्क्याएर आफूहरूलाई भोटको लागि मात्र प्रयोग गरेको उनीहरूको आरोप छ । 

इटहरी, धरान र सुन्दरहरैचाबाट आएका सुकुम्वासीले इटहरीलाई केन्द्र बनाएर आन्दोलन गरेका हुन् । ‘भोटको राजनीति बन्द गर, भोट केमा लालपुर्जामा’ लगायत नारा लगाएका छन् । 

सुन्दरहरैचा १२ बाट आन्दोलनमा सहभागी भएका भूमि उराउ भूमि पाउने आसमा सहभागी भएका हुन् । भूमिहीन हुनुपर्दा सरकारले दिने सेवाबाट वञ्चित हुनुपरेको उनको दुखेसो छ । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै नेताहरू भोट माग्न गाउँमा जान थालेका छन् । त्यही  समयमा सुकुम्वासी लालपुर्जा लिएपछि मात्र भोट दिने बताएका हुन् । 

Sukumbasi-1