विराटनगर : प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक परिवर्तनमा पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । 
उनले अहिले विभिन्न सामाजिक सञ्जाल र युट्युबमा आएको भ्रमपूर्ण प्रचारबाजीले व्यावसायिक पत्रकारहरूमा आक्रमण भइरहेको प्रति सजग हुनुपर्नेमा जोड दिए । 'अहिले विभिन्न भ्रमपूर्ण समाचारहरू टिकटक, युट्युबलगायतमा आउँदा पत्रकारहरूमाथि आक्रमण भइरहेको छ,' रातोपाटी अनलाइनको विराटनगरस्थित प्रदेश कार्यालय उद्घाटन समारोहमा बोल्दै भण्डारीले भने, ‘स्वतन्त्र पत्रकारिताको क्षेत्रको विकासका योगदान गर्दै स्वतन्त्र, निष्पक्ष ढङ्गले जनताको अनलाइनको रूपमा रातोपाटी अनलाइनले भूमिका खेलोस् ।’
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रातोपाटी अनलाइनले पत्रकारितामा छुट्टै पहिचान बनाएको बताउँदै विराटनगरमा कार्यालय खोलेकोमा शुभकामना व्यक्त गरे । उनले विराटनगरको विकास र समृद्धिको कुरा देशव्यापी लैजान रातोपाटीलाई आग्रह गरे । 
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनसरोकारका विषयमा राज्यलाई घच्घच्याउने काम सञ्चार माध्यमले गर्नुपर्ने बताए । उनले अत्यावश्यक विधेयकहरू नल्याएर स्वार्थ अनुकूल अध्यादेश सरकारले ल्याउने गरेको तिर पनि सञ्चार माध्यमले ध्यान दिनुपर्ने । नागरिकताको विषय, विकास निर्माणको विषयमा अझै पनि पत्रकारिताले राज्यलाई दबाब दिनुपर्ने उनको भनाइ थियो । 
रातोपाटीका संस्थापक अध्यक्ष ओम शर्माले विराटनगर र प्रदेश १ को सवाललाई सम्बोधन गराउनका लागि राज्यलाई घच्घच्याउने काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै रातोपाटीका प्रधान सम्पादक अरुण बरालले रातोपाटीको प्रदेश १ पोर्टलको रूपमा छुट्टै विकास गर्न लागेको जानकारी दिए । उनले प्रदेश १ को हरेक विषयलाई स्थान दिन र विकास निर्माणमा बहस सिर्जना गर्न आफूहरू लाग्ने बताए । 
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य उमेश यादव, नेकपा एमाले विराटनगरका अध्यक्ष सागर थापा, माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले लगायतले शुभकामना व्यक्त गरेका थिए ।