इटहरी : नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणकालागि काँग्रेस नेता इटहरी निवासी रोहित प्रसाईँले जग्गा दिएका छन्।
सोमबार बिहान एक कार्यक्रमका बिच प्रसाईँले जग्गाको धनीपूर्जा हस्तान्तरण गरेका हुन । प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीलाई उनले जग्गाको धनीपूर्जा हस्तान्तरण गरे । धनीपूर्जा हस्तान्तरणपछि कार्यक्रममा बोल्दै काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईँले भने, 'प्रेस युनियनका अध्यक्षले हाम्रा गतिविधि हाम्रै भवनमा सञ्चालन गर्छौ भनेका कारण सहयोग गरिदिनुहोस् भनेर भनेकाले मैले बोलेको हुँ ।'
उनले भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्माण गरिसक्नुपर्ने बताए । आफूले मन जितेर जग्गा दिएका कारण चाँडै भवन निर्माण गर्न सुझाव दिए। एक फरक प्रसङ्गमा बोल्दै उनले नेपाली काँग्रेसलाई तीनै तहमा निर्वाचित गराएको खण्डमा विकास निर्माणका कामले तीव्रता पाउने बताए । ‘आगामी निर्वाचनमा पार्टीबाट जुनसुकै उम्मेदवार आए पनि नेपाली काँग्रेसलाई विजयी गराऔँ,’ उनले भने, ‘पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने क्षेत्र भएकाले यहाँका गतिविधि आम मानिसले थाहा पाउनुपर्ने गरी पत्रकारहरूले काम गरिरहेकाले खुसी पनि लागेको छ।’
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेकाले अब सुनसरीमा भवन निर्माण हुने बताए । उनले भने, ‘नक्सा बनाउने काम भइरहेको छ, दुई वर्षभित्रमा भवन सक्ने गरी काम सुरु गर्छौँ ।’ उनका अनुसार नेपाली काँग्रेस इटहरीका मेयरका प्रत्याशी समेत रहेका प्रसाईँले इटहरी १७ स्थित पूर्व–पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गा प्रदान गरेका हुन् ।
साथै सोही कार्यक्रमको अवसरमा भवन निर्माणका लागि होटेल व्यवसायी सङ्घ इटहरीको तर्फबाट अध्यक्ष जीवन पराजुलीले २५ बोरा सिमेन्ट, उवासंघ इटहरीका सदस्य नवराज काफ्लेले ५१ हजार बराबरको इट्टा, रोटरी क्लबकी अध्यक्ष सबिना कोइरालाले २१ हजार नगद, काँग्रेस नेता श्याम रिजाल र गोकुल प्रसाईँले २५-२५ बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरे ।