धरान : तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान् चाड सिरुवा पर्वको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राईले एक शुभकामना सन्देश जारी गरी सिरुवा पर्वको सुखद अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरू सहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गर्दछु भनेका छन् ।
सिरुवा पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ । प्रदेश नं. १ का झापा, मोरङ सुनसरी, उदयपुर सहित सप्तरी, सिराहा लगायत जिल्लामा सिरुवा पर्व धूमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।
यो पर्वलाई समय परिवर्तनको सङ्केतको रूपमा पनि मनाउने गरिन्छ । गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता प्रदान गर्छ भन्ने मान्यताका साथ यस पर्वलाई ‘जुडशीतल’ पनि भन्ने गरिन्छ ।
सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका धार्मिक स्थलमा मेला लाग्ने गर्दछ । यस्तो मेला वैशाख महिनाभरि नै ठाउँअनुसार फरक फरक दिनमा लाग्ने गर्दछ । सिरुवा पर्वमा मेला लाग्ने स्थानमा ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास छ । जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको सिरमा पानी छर्कने र बोटबिरुवामा पानी हाल्ने चलन छ ।
नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ शुभकामना सन्देशमा उल्लेख छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्र्वद्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।
हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा मुख्यमन्त्री राईले सन्देशमा उल्लेख गरेका छन् ।