धरान ः धरानमा जारी हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा आयोजक हाम्रो धरान भेट्रान र दमक लखनपुर भेट्रान विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा डाँडाबजार भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजककालागी योगेन राईले निर्णायक गोल गरेका थिए । उनले खेलको २० औँ मिनेटमा गोल गरेका थिए । अब क्वाटर फाइलमा आयोजकले एभरेस्ट भेट्रान मोरङसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच आयोजक हाम्रो धरान भेट्रानका विकास राना मगर घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै आज भएको दोस्रो खेलमा दमक लखनपुर भेट्रानले भरौल भेट्रानलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । खेलमा भरौलका सन्तोष चौधरीले २१ औँ मिनेटमा गोल गर्दै भरौललाई अग्रता दिलाएका थिए । तर लगातार दमक लखनपुरले ३ गोल गरेपछि भरौल पराजित भएको थियो ।

लखनपुरका लागी देवमान लिम्बूले २८ औँ मिनेट, चन्द्रकुमार राईले ५५ औँ मिनेट र विकास राईले ६० औँ मिनेटमा गोल गरेका थिए । अब क्वाटर फाइनलमा दमक लखनपुरले हाम्रो इटहरी भेट्रानसँग प्रतिष्पिर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच दमक लखनपुरका देवमान लिम्बू घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

सोमबार पहिलो खेलमा दुधे भेट्रान झापा र दुहबी भेट्रान सुनसरी बिच १ः३० बजे धरान रङ्गशालामा खेल हुनेछ भने दोस्रो खेलमा लेटाङ भेट्रान मोरङ र बिर्तामोड भेट्रान झापाबिच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४० वर्ष माथि उमेर समूहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।