धरान : धरानमा आज शनिवारदेखि हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । 
शनिवार भएको उद्घाटन खेलमा लेटाङ भेट्रान लेटाङले मिल्स भेट्रान विराटनगरलाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । लेटाङका तर्फबाट प्रकाश थापाले २ गोल गरे भने भुवनसिंह राईले एक गोल गरेका थिए ।
पहिलो हाफमा ३-० ले पछि परेको मिल्स भेट्रानले दोस्रो हाफमा २ गोल फर्काएको थियो । मिल्स भेट्रानका लागी विजयकुमार भुजेल र प्रकाशचन्द्र राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच लेटाङका विमल गुरुङ घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै शनिवार भएको दोस्रो खेलमा जनता भेट्रान इटहरीलाई १-० गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान झापा क्वाटर फाइनलमा प्रवेश  गरेको छ । दुधेकालागी भीम सिटौलाले गोल गरेका थिए । इटहरी भेट्रानले खेलमा पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमा गोल गर्न नसक्दा इटहरीले हार बेहोर्‍यो । खेलको म्यान अफ द म्याच दुधेका मनोज नाल्बो घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।
आइतबार हुने पहिलो खेलमा आयोजक हाम्रो धरान भेट्रान र डाडाबजार भेट्रान बिच १ः३० बजे धरान रङ्गशालामा खेल हुनेछ भने दोस्रो खेलमा दमक लखनपुर भेट्रान र भरौल भेट्रानबीच खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा ४० वर्ष माथि उमेर समूहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ। प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।