इटहरी : स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सत्तारुढ दलको निर्णय कार्यान्वयनमा समस्या देखिन थालेको छ।
स्थानीय पालिका स्तरीय समितिले नै गठबन्धनको भागबण्डा टुङ्गो लगाउने तयारी थाले पनि त्यसले सार्थक परिणाम दिन नसकेको हो। 
धरान उपमहानगरपालिकामा पनि ५ दलीय गठबन्धन धरमराएको छ । धरानमा नेकपा माओवादी केन्द्रले मेयर पद नछाडेपछि गठबन्धनको सम्भावना कमजोर बनेको हो । नेपाली काँग्रेसले मेयर र उपमेयर सहित १२ वडा आफूहरूले पाउनुपर्ने अडान राखेको छ । 
काँग्रेस सुनसरी क्षेत्र नम्बर १ सभापति सुजेन्द्र तामाङले फेसबुक मार्फत गठबन्धन हुन नसक्ने बताएका छन् । तामाङका अनुसार माओवादीले मेयर सहित ३, ४, ५, ११, १५, १७, १९ र २० नम्बर वडाको अध्यक्षमा उम्मेदवार पाउनुपर्ने बताएको छ। एकीकृत समाजवादीले ४, ५, ६, ११, १५ र १६ नम्बर वडा दाबी गरेको छ । राष्ट्रिय जनमोर्चाले दुई वटा वडा र जनता समाजवादी पार्टीले उपमेयर सहित तिन वटा वडा दाबी गरेको छ । जसले गर्दा काँग्रेस गठबन्धनबाट झस्किएको छ। 
हिजो बसेको बैठकमा कुनै निर्णय हुन नसकेपछि आज पुनः छलफल हुने भएको छ। नेकपा एमालेको लालकिल्ला धरानमा २०७६ को उपनिर्वाचनमा काँग्रेसका तिलक राई विजयी भएका थिए। राईको विजयी सँगै पुनः काँग्रेस विजयी हुने विश्वास काँग्रेस कार्यकर्तामा पलाएको छ । 
नेकपा एमाले विभाजनको असर निर्वाचनमा पर्ने बुझेर काँग्रेसले मेयर उपमेयरमा आफ्नो दाबी कायम राखेको छ । गठबन्धनमा आबद्ध दलहरू सहमतिमा नआए एक्लै भए पनि चुनाव लड्ने तयारीमा काँग्रेस लागेको छ । धरानमा मुख्यतः काँग्रेस र एमालेकै बिच प्रतिस्पर्धा हुने गर्छ । 
प्रदेश १ का दुई ठुला उपमहानगर धरान र इटहरीमा गठबन्धन :
इटहरीमा नेपाली काँग्रेसले मेयर उपमेयर सहित बहुमत वडा नछाड्ने बताएपछि अन्यदलहरु बिलखबन्दमा परेका छन्। एकीकृत समाजवादीले मेयर दाबी गरेपछि इटहरीमा सहमति हुन सकेन । लामो छलफल पछि पनि सहमति नभएपछि इटहरी काँग्रेसले गठबन्धन नगर्ने निर्णय सहितको पत्र जिल्ला समितिलाई पठाएको छ। यसअघि २० मध्ये १२ वडामा विजयी भएको काँग्रेस यस पटक १५ वडा सहित मेयर उपमेयरमा पनि विजयी हुने रणनीतिमा छ ।