इटहरी : नेकपा एमाले प्रदेश १ कमिटीले एक महानगर सहित दुई उपमहानगरको नाम सिफारिस गरेको छ । 

विराटनगर महानगरबाट ५ जना, इटहरी र धरान उपमहानगरपालिकामा ४/४ जनाको नाम सिफारिस गरेको हो । 

पुनः मेयर दोहोर्‍याउने दाउमा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको भने नाम सिफारिसमा परेन । मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारी सहित स्थायी समिति सदस्यको बैठकले सिफारिस गरेको छ । नगर कमिटीबाट सिफारिस भएर आएको चौधरीको नामलाई प्रदेश कमिटीले हटाएको हो । 

इटहरीबाट नगर अध्यक्ष यामकुमार सुब्बा, हालकी उपमेयर लक्ष्मी कुमारी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम सिफारिस भएको छ । त्यस्तै उपमेयरमा सङ्गीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम अगाडी सारिएको छ। तथापि इटहरीमा एमालेले राप्रपालाई उपमेयर दिएर तालमेल गर्ने योजना बनाएको छ । 

धरान उपमहानगरपालिकामा मोतीराज सुनुवार, वर्तमान उपमेयर मञ्जु भण्डारी, विजय राई र मनोज मेन्याङबो सहित चार जनाको नाम सिफारिस गरेको छ। उपमेयरमा भने वर्तमान उपमेयर भण्डारी समेत अटाएकी छन् । उनी सहित पदम लिम्बु, लहरुमाया जिमी, सविता राई र सुशीला पहाडी सिफारिस भएका हुन् । सिफारिस भएका नाम मंगलबार नै केन्द्रीय कमिटीमा पठाएको छ ।

विराटनगर महानगरपालिकामा रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, पर्शुराम बस्नेत, नगर अध्यक्ष सागर थापा र महेश भट्टराई सिफारिस भएका छन् । उपमेयरमा लागि शिल्पा कार्की, विमला दाहाल र अन्जु उपाध्याय को नाम सिफारिस गरेको छ ।