इटहरी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन इटहरी उपमहानगरपालिकामा धर्मराएको छ।
इटहरी उपमहानगरपालिकामा जनता समाजवादी पार्टी बाहेक ३ दलको गठबन्धन बनेको छ। नेपाली काँग्रेसले मेयर सहित १७ वडामा उम्मेदवार उठाएको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीले उपमेयर सहित १ वडामा उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले भने २ वडाध्यक्ष सहित १७ वडा सदस्य पाएको छ।
शुक्रवार राती मात्र टुङ्गो लागेको गठबन्धनमा जसपाले भने भाग पाएन। उता माओवादी र नेकपा एसलाई भने फाइदा पुगेको छ । अघिल्लो निर्वाचनमा एउटा वडा सदस्य मात्र जितेको माओवादी केन्द्रले वडाध्यक्ष पाएर फाइदामा छ भने नेकपा एसले उपमेयर सहित वडाध्यक्ष पाएको छ । माओवादीले वडा नम्बर १० मा झमक प्रसाद पराजुली र १८ नम्बरमा राजदेश चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। उपमेयरमा नेकपा एसले पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिस्ट र वडा नम्बर १४ को अध्यक्ष प्रेमचन्द रौतारलाई उठाएको छ ।
सहमति हुनु अगावै उम्मेदवारी दर्ता गराएको जसपाले भने उम्मेदवारी फिर्ता लिएन। वडामा भाग नपाएपछि जसपा गठबन्धनमा नपरेको हो । मेयरमा जसपाका इटहरी अध्यक्ष डिल्ली प्रसाद लिम्बु र उपमेयरमा योसा गुरागाईँले उम्मेदवारी दिएकी छिन् । त्यस्तै १८ नम्बरमा उपेन्द्र कुमार चौधरी र ११ नम्बरमा जय नारायण चौधरीलाई जसपाले वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
गठबन्धनमा जाने हिसाबले आफू तयार भए पनि त्यसको लागि अन्यदलहरुले धोखा दिएको उपमेयरकी उम्मेदवार योसा गुरागाईँले बताइन् । उपमेयर पाएको नेकपा एसले आफ्नो लागि मात्र बार्गेनिङ गर्दा पार्टीले गठबन्धनमै मत हाल्नुपर्ने निर्देशन दिन सक्ने भएको छ ।