इटहरी : इटहरी उपमहानगरपालिकाको निर्वाचनमा जनता समाजवादी पार्टीले गठबन्धनमा आबद्ध हुने निर्णय गरेको छ । 

नेपाली काँग्रेस नेतृत्वको नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र सहितको गठबन्धनमा जसपा पनि सामेल हुने भएको हो । 

मेयर र उपमेयर पदमा गठबन्धनलाई सघाउने र वडा स्तरमा मित्रवत् प्रतिस्पर्धा गर्ने जसपा नेपाल द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि बारम्बार छलफल हुँदा पनि कुरा नमिलेपछि मेयर र उपमेयरमा उम्मेदवारी दिएको जसपाले प्रस्ट पारेको छ ।

वैशाख ३० गते हुने निर्वाचनमा नेपाली काँग्रेसका नगर सभापति हेमकर्ण पौडेलले गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका छन् । उपमेयरमा नेकपा एसका केन्द्रीय सदस्य केशव कुमार विष्ट उम्मेदवार भएका छन् । यसअघि जसपाबाट मेयरमा नगर अध्यक्ष डिल्ली प्रसाद सुब्बा र उपमेयरमा योसा गुरागाईले उम्मेदवारी दिएका थिए । 

वैशाख १६ गते पार्टी केन्द्र र पाँच दलीय गठबन्धनको निर्देशन बमोजिम जसपा नेपालको तर्फबाट मेयर र उपमेयरका प्रत्याशी उमेद्धवारले उम्मेदवारी फिर्ता लिने र गठबन्धनका दललाई सघाउने निर्णय गरेको हो । केन्द्रीय निर्देशन बमोजिम वडा देखी नगर सम्मका पार्टी कार्यकर्तालाई परिचाल गरिने जसपा नगर अध्यक्ष डिल्ली प्रसाद सुब्बाले बताए । गठबन्धनका दललाई सघाएर अगाडी बढ्न आफू पहिला देखी नै तयार भए पनि प्राविधिक कारणले ढिलाइ भएको उनको भनाई छ ।

Jasapa