इटहरी : इटहरी-४ टेङ्ग्रा खोलाको किनारमा किरिया घर बनाइएको छ। पुरोहितले मन्त्र भनिरहेका बेला लक्ष्मी परियार टोलाइरहेकी हुन्छिन् । पुरोहितले हातको इसाराले कर्म सिकाउँछन् उनी पनि सोही अनुसार गर्छिन् । जनै लगाएर आमाको किरिया गरिरहेकी उनी छोराको भूमिकामा छिन् । 
१० दिन अगाडी लक्ष्मीकी आमा अन्जुको निधन भयो । परिवारको भरथेग गर्ने अन्जुको मृत्यु पछि उनका श्रीमान् नीरज निराश छन् । नीरज पनि प्रेसर बढेर कहिलेकाहीँ थला पर्छन् । ४ महिना उपचार गरेर थलिएका उनी भर्खरै हिँडडुल गर्न थालेका हुन् । अहिले पनि उनको देब्रे हात र खुट्टा राम्ररी चल्दैन । आर्थिक रूपमा अति विपन्न परिवारका उनलाई श्रीमतीको मृत्युले बज्रपात परेको छ । उनै अन्जुको भरमा चलेको परिवार अब झनै समस्याग्रस्त बन्दै गएको छ।
कक्षा ११ को परीक्षा दिने तयारीमा रहेकी लक्ष्मीको काँधमा झनै जिम्मेवारी बढेको छ । आमाले धानेको परिवार अब उनकै भरमा पुगेको छ । बिरामी बाबुको औषधि उपचार देखी पढाई खर्च जुटाउन उनलाई समस्या छ । ४ छोरी मध्येकी साइँली हुन लक्ष्मी । दुई जना दिदीको विवाह भइसक्यो । कान्छी बैनी सानै छिन् । जेठी दिदी कुवेतमा छिन् । उनैले पठाएको पैसाले केही भरथेग भयो । तर पर्याप्त भएन । बाँकी काम गर्न पैसा अभाव भएको सुनाउँछिन् लक्ष्मी । 
“पहिला त आमाले कमाउनु हुन्थ्यो । खर्च पनि धेरै हुने रैछ । पढ्न पनि मन छ । तर किरिया खर्च जुटाउनै समस्या भएको छ । पढ्न त परको कुरा हो,” उनले भनिन् । 
'त्यस दिन बोल्दा बोल्दै ढली, के भयो भनेर सोध्न समेत पाइएन, उपचार गराउने समय नै भएन ।,' श्रीमतीलाई सम्झिँदै नीरजले भने, “भर्खरै ४५ वर्षकी हो । म पनि थलिएको छु । अब छोरीहरूको भविष्य के हुने हो । त्यही चिन्ता छ मलाई ।” अहिलेसम्म छोरीले पठाएको र छिमेकीको सहयोगले किरिया खर्च धानेको उनले सुनाए । 
छिमेकी निर्मला पाण्डे पनि परियारको अवस्था नाजुक रहेको बताउँछिन् । घर परिवार चलाउने अन्जु बितेपछि अब झनै समस्या हुने उनले सुनाइन् । छिमेकी भएर हेर्दा धेरै दया लाग्ने अवस्था रहेको उनको भनाई छ।
niraj-laxmi