झापा : नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्ने नेता, कार्यकर्ताहरूलाई कारबाही गर्ने भएको छ। पार्टीका उम्मेदवारलाई असहयोग गरी अन्तर्घात गर्ने नेता तथा कार्यकर्ताहरूलाई कारबाहीको सिफारिस गर्न थालिएको छ ।

काँग्रेस स्रोतका अनुसार झापाको गौरादहमा पार्टीले नराम्ररी पराजय व्यहोरेपछि त्यहाँ पार्टी सभापतिसहितका पाँच जना नेता, कार्यकर्तालाई वडा तहबाट कारबाही सिफारिस गरेको छ। गौरादह-१ काँग्रेस वडा समितिका सभापति इन्द्र गौतमको अध्यक्षतामा गत जेठ १४ गते बसेको बैठकले निर्वाचनको समिक्षा गर्दै नगर सभापति यादवराज सेढाई सहित चार जनालाई कारबाहीको सिफारिस गरिएको उल्लेख छ। यसरी कारबाहीको सिफारिस पर्नेमा सभापति सेढाई, इमानसिंह तामाङ, लीलानाथ पराजुली र वन्दना सेढाई रहेका छन्।

सेढाई सहितका चार जनाले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै पार्टीका उपल्लो तहमा सिफारिस गरिएको बताइएको छ। सेढाई त्यहाँ मेयरका आकाङ्क्षी थिए । आफूले टिकट नपाएपछि यादव सहितका ती नेताहरू पार्टी विरुद्ध भित्र रूपमा सक्रिय भएको खुलेको छ।

गौरादहमा काँग्रेसले यसअघि मेयर सहित तीन वटा वडा जितेको थियो। तर यस निर्वाचनमा भने माओवादीसहितको गठबन्धनबाट मेयरका साझा उम्मेदवार निवर्तमान मेयर रोहित साह नराम्ररी पराजित हुन पुगेको थिए । वडामा भने गौरादह-२ मा गोपाल कोइराला र ६ मा तोया प्रसाईँ र गौरादह-८ मा माओवादीबाट गणेश राजवंशी निर्वाचित भएका थिए । निर्वाचनमा अन्तर्घात गर्नेलाई वडाबाट सिफारिस भएपछि विधानअनुसार कारबाहीमा पर्ने काँग्रेस विधानमा उल्लेख छ। यसैगरि गौरीगञ्जमा पनि महाधिवेशन प्रतिनिधि नीरज अग्रवाल सहितका केही नेताहरू कारबाहीमा पर्ने भएका छन् ।

दमकमा पनि काँग्रेस प्रदेश प्रतिनिधिमा मनोनीत भएका घनेन्द्र राज योङया सहितका केही नेता तथा अगुवा कार्यकर्ताहरू कारबाहीको सिफारिसमा पर्ने भएका छन् । उनीसहित महाधिवेशन प्रतिनिधि रमा लिम्बू, दमक-१ का काँग्रेस वडा सभापति गजेन्द्र देवान लगायतले पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गर्न लागेको पार्टी स्रोतले जनाएको छ। उनीहरूले निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई हराउन विपक्षीलाई सहयोग गरेको , चुनावी प्रचार लगायतका कार्यक्रममा समेत सहभागी भएका थिएनन् ।