इटहरी : नेपाली काँग्रेस धरान उपमहानगरपालिका वडा नम्बर ६ का वडा सभापति पदम बहादुर पौडेल सहित उपसभापति र सचिवलाई कारबाहीको लागि निवेदन गरिएको छ । कार्यवाहक सभापति वीर बहादुर कार्कीले जिल्ला समिति सुनसरीमा निवेदन पठाएर कारबाही हुनुपर्ने माग गरेका हुन् । 

सभापतिको अनुमति विना स्वघोषित कार्यवाहक भएका उनले वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवार विरुद्ध बागी उठेका भूपेन्द्र भट्टराईलाई सघाउने सबैलाई कारबाहीको गर्नुपर्ने बताएका छन् । 

भट्टराईको पक्षमा लागेर क्षेत्रीय र नगर सदस्यहरू, क्षेत्रीय प्रतिनिधि तथा काँग्रेसका क्रियाशील सदस्यहरू समेत काँग्रेस उम्मेदवारलाई हराउन लागि परेको निवेदनमा उल्लेख गरेका छन् । काँग्रेसलाई चुनाव हराउने अभियानमा लागेका सबैलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न अनुरोध गरिएको छ । 

उनले निवेदनमा स्वयम् वडा सभापति, उपसभापति, सचिव र कोषाध्यक्ष सहित ४ जना सदस्यको नाम उल्लेख गरेका छन् । त्यससँगै नगर समितिका ३ र क्षेत्रीय समितिका २ जना लगायत नेपाल तरुण दलका नगर अध्यक्ष सचिव र एक जना सदस्य छन् । क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यलाई पनि कारबाहीको माग गरिएको छ । 

वडा सभापति पौडेल भने कारबाही हुने भए आफूहरू राजीनामा दिन तयार रहेको बताउँछन् । आफूहरूले बागी विजयी गराएको भन्दा पनि काँग्रेस बचाउन भूमिका खेलेको उनको भनाई छ ।

सुरुमा आफ्नो नाम वडाध्यक्षको रूपमा सर्वसम्मत सिफारिस भएको बताउँदै उनले पछि नातावाद हाबी भएर कृष्ण कुमार राईले टिकट पाएको सुनाए । जसले गर्दा धेरै कार्यकर्ता अर्कै पार्टीमा जान लागेको बुझेपछी काँग्रेसबाट बागी उम्मेदवार उठाउनुपर्ने बाध्यता भएको उनको भनाई छ । यसले काँग्रेसलाई थप बलियो बनाएको र विजयी भएका स्वतन्त्र उम्मेदवार पनि काँग्रेसकै भएको उनले प्रष्ट पारे । 

गुट र नातावादको कारण कांग्रेसमा यो अवस्था आएको उनले बताए । अहिले २९ जनाको मात्र नाम दिएको देखियो तर यस्तै अवस्था रहे २ सय बढी काँग्रेस कार्यकर्ता राजीनामा दिन तयार रहेको उनको चेतावनी छ । 

उता उपमहानगर सभापति श्याम पोखरेल भने सहमतिमै समस्या समाधान गरिने बताउँछन् । “अहिले जे समस्या देखिएको छ यो पार्टीको लागि राम्रो हैन । क्षेत्रीय सभापति उपचाररत हुनु भएकाले केही दिनमै यस विषयमा निर्णयमा पुग्छौ । सबै साथीलाई चित्त बुझ्ने गरी र पार्टीमा अपनत्व महसुस हुने गरी काम गर्ने हो,” उनले भने ।dharan-wada-6